काठमाडौं - सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) जारी गरेको छ।
लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकत्तम २५ लाख १८ हजार २३० कित्ता आवेदन दिन पाउने छन्।
प्रति कित्ता एक सय रुपैयाँका दरले कम्पनीले २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गरेको छ। आइपीओ निष्कासन छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गते बन्द हुने छ।
कम्पनीले आइपीओबाट प्राप्त हुने रकम रुकुम पश्चिममा निर्माणाधीन पाँच मेगावाटको रुकुम गाड जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने जनाएको छ। उक्त जलविद्युत परियोजनाको कुल लागत एक अर्ब १४ करोड ९६ लाख ५६ हजार रुपैयाँ रहेको छ।
प्रति मेगावाट लागत करिब २३ करोड रुपैयाँ रहेको छ। विद्युत उत्पादन अनुमति अवधि २९ वर्ष बाँकी रहेको कम्पनीले जनाएको छ। लगानीकर्ताहरुले लगानी फिर्ता अवधि ७.७६ वर्ष रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १८.८४ वर्ष रहेको छ।
केयर रेटिङ्स नेपालले सीइडीबी हाइड्रोलाई २०७७ असोज २९ गते एनपी बीबी (आइएस) रेटिङ दिएको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।
कम्पनीको आव २०७६/७७ मा १३.०५ रुपैयाँ रहेको प्रति सेयर आम्दानी चालु आवमा १३.७२ रुपैयाँ पुग्ने प्रक्षेषण छ।
कम्पनीले ५० हजार ३६५ कित्ता कर्मचारीलाई र एक लाख २५ हजार ९११ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ।
विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको र कोभिड-१९ महामारीको जोखिमका कारण बिक्री प्रबन्धकले लगानीकर्ताहरुलाई 'मेरोशेयर' बाट अनलाइन र मोबाइल एपबाट आवेदन दिन आग्रह गरेको छ।
लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन्।
कम्पनीले सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।