×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

दुई महिनापछि २ अर्ब बढीको सेयर खरिदबिक्री

दुई महिनापछि २ अर्ब बढीको सेयर खरिदबिक्री

काठमाडौं - प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै नेपाल स्टक एक्सचेन्जमा उच्च कारोबार हुन थालेको छ। नेप्से परिसूचक घटे पनि करिब २ महिनापछि सोमबार २ अर्बभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको हो। यसअघि भदौ ३० गते २ अर्ब १२ करोड ५६ लाख रूपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो।  

सोमबार २ सय २४ स्टकको ३५ हजार ११२ पटक कारोबार भएको थियो। जसमा ५६ कम्पनीको सेयर मूल्य बढेको छ। २ अर्ब १० करोड ९१ लाख ६३ हजार रूपैयाँको सेयर कारोबार हुँदा ४९ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ६.४३ अंकले बजार घटे पनि कारोबार रकमको आधारमा सोमबार दुई महिनायताकै उच्च कारोबार हो। परिसूचक घटेर १९५८.९४ बिन्दुमा झरेको छ।  

सोमबार प्रमुख तीन सूचक भने घटेका छन्। सेन्सेटिभ सूचक २.१९ अंकले घटेको छ भने फ्लोट परिसूचक ०.३९ अंकले घटेको छ। यस्तै सेन्सेटिभ फ्लोट ०.८९ अंकले घटेको छ। सेयर बजारका १३ वटा उपसूचकमध्ये सोमबार ५ वटा उपसूचकमा मात्रै वृद्धि भएको छ। जसमा जीवनबिमातर्फ ४६.१० अंक, इन्भेस्टमेन्टतर्फ ०.०१ अंक, ट्रेडिङतर्फ ३.२५ अंक, अन्यतर्फ ०.८२ अंक, म्युचुअल फन्डतर्फ ०.१४ अंक रहेको छ।  

एक्सचेन्जका अनुसार यस दिन सबैभन्दा धेरै धौलागिरी लघुवित्तको सेयर ८.१३ प्रतिशतले वृद्धि भएको छ। सोमबार सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा ग्लोबल आइएमई लघुवित्तको ५.७० प्रतिशतले मूल्य घटेको छ।  

सोमबार धौलागिरी लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.१३ प्रतिशत बढेको छ। त्यसैगरी, जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य यस दिन करिब ७ प्रतिशत बढेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य साढे ४ प्रतिशत बढेको छ। यस दिन ग्लोबल आइएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ। यस्तै, आशा लघुवित्त, एनआइसी एसिया लघुवित्त र शिवम् सिमेन्ट्सको सेयर मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा यस दिन जाल्पा लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन १५ करोड १६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

लघुवित्तले ७३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ता यसतर्फ आकर्षित भएका हुन्। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने नेस्डो समृद्ध लघुवित्तको १० करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

प्रतिकृया दिनुहोस्