धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलबीच चुनावी तालमेलका क्रममा कतै तालमेल आए मित्रवत् प्रतिस्पर्धा पनि गर्न सकिने बताएका छन् । प्रेस सेन्टर धनगढीको आयोजनामा बिहीबार धनगढी विमानस्थलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
गठबन्धन दलहरुबीच तालमेल गर्ने विषय पहिलो प्राथमिकतामा राखिएको भन्दै उनले कुनै स्थानमा समस्या आए स्वस्थ प्रतिस्पर्धा पनि हुनसक्ने बताए । ‘सत्ता गठबन्धनका दलहरुबीच केन्द्रमा भएको तालमेलको मर्म र भावना अनुसार नै देशभर चुनावी तालमेल हुन जरुरी’ उनले भने, ‘कहीँकतै समस्या आयो भने स्वस्थ प्रतिस्पर्धा पनि गर्न सकिन्छ । तर प्राथमिकता तालमेललाई नै दिनुपर्छ ।’
यस्तै अध्यक्ष प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने प्रस्ट पारेका छन् । निर्वाचन सार्ने भन्ने हल्ला फिँजाइएको भन्दै त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे । ‘हिजो मात्रै हामीले महानगर र उपमहानगरको भागबन्डासमेत गरिसकेका छौँ,’ उनले भने, ‘अब कन्फ्युजन हुनुहुँदैन । वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ ।’ उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्ने व्यापक जनसहभागिता हुनुपर्ने बताए ।