चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिकाको मेयरमा नेकपा (एमाले) की ताराकुमारी काजी महतो निर्वाचित भएकी छन्।
पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का ऋषी काफ्ले दुई हजार १७२ मतान्तरले पराजित भए।
मेयरमा निर्वाचित महतोले नौ हजार ९०१ मत प्राप्त गर्दा काफ्लेले जम्मा सात हजार ७२९ मत मात्रै प्राप्त गरे। मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए। उपमेयरमा भने कांग्रेसका खेम महतोले छ हजार ८३० मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले पाँच हजार १४० र स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले तीन हजार ८६ मत ल्याए।
एक कार्यकाल उपमेयर भएर काम गरेकी ताराकाजी महतो शालिन र लोकप्रिय नेतृको रुपमा परिचित छन्। विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै राजनीतिमा प्रवेश गरेकी महतोले माडीका विभिन्न वडामा १२ वर्ष वडा सचिव र पाँच वर्ष उपमेयर भएर काम गरेकी छन्।
लगातार रुपमा वडा अध्यक्ष पद गुमाउँदै गएको एमालेले अन्तिम चरणमा मेयर र वडा नं ६ मा जीत हात पारेको छ। वडा नं ६ मा एमालेका दीपेन्द्रराज पौडेल निर्वाचित भए।
माओवादी केन्द्रले माडी–२, ४, ५ र ९, राप्रपाले माडी–१ र ८ र एकिकृत समाजवादीले माडी–३ र ७ मा विजय हात पारेको छ।