नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा पुगेर स्थानीयको अवस्था र पुनर्स्थापनाको विषयमा जानकारी लिएका छन्। राहत वितरणपछि दोस्रो पटक प्रभावित क्षेत्रमा पुगेका उनले विपद्का बेला सुरुमा चासो देखिए पनि पछि विषय ओझेलमा पर्दा पीडित समस्यामा पर्ने गरेको बताए। बाढी प्रभावित क्षेत्रको अवलोकनपछि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने उनको भनाइ छ।
पुनर्स्थापनाका लागि बन्ने सडकको मार्ग यकिन गरिनुपर्ने र दीर्घकालीन बसोबासका लागि सार्वजनिक जग्गा खोजी गर्नुपर्ने सभापति थापाले जोड दिए। सार्वजनिक जग्गा नभएका ठाउँमा राज्यले निजी जग्गा खरिद गरेर भए पनि बाढीपीडितलाई जग्गा उपलब्ध गराउनुपर्ने उनको धारणा छ। संघीय सरकार पुनर्स्थापनामा उदासीन देखिएको आरोप लगाउँदै उनले धादिङको फुर्केखोलानजिकै पक्की पुल वा बेलिब्रिज निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताए। गत भदौ १० गते आएको भोटेकोशी–त्रिशूली बाढीले ती क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो।
#GaganThapa #NepaliCongress