सम्झना धेरै छैन तर किंग्सटनका गल्लिहरुमा जब वर्षात् हुन्थ्यो बच्चाहरू गुडुडु बाहिर दौडिहाल्थे, वर्षात्मा रमाउँदै सकी नसकी थोत्रा बल दौडाउन । हिलाम्मे भएर घर छिर्दा भेटिने गाली कता-कता झझल्कोमा आउँछ रहिम स्ट्रलिङलाई ।
पाँच वर्षको हुँदा जमैकाको किंग्सटनबाट उनलाई लन्डन सार्ने आमाको निर्णय आफैँमा सहज थिएन । तर अबोध बालकलाई आमाको निर्णय नमान्ने छुट पनि त थिएन । आमाले यो निर्णयको पछि ठुलो पारिवारिक वियोगको कथा जोडिएको छ । उनी दुई वर्षको हुँदा नै बुबाको हत्या भयो । त्यसपछि नै परिवारको भविष्यलाई लिएर आमाले जमैकाको किंग्सटन छोड्ने विचार गरेकी हुन् । रहिम भन्छन्, ‘बुबाको हत्या भएपछि मेरो जिवनको गति नै फेरियो । त्यसपछि आमाले मेरो लागि नै भएपनि जमैका नबस्ने निर्णय गर्नुभयो । जीवन राम्रो बनाउन इंग्ल्यान्ड जाने उहाँले निर्णय गर्नुभएको थियो । जहाँ हाम्रो शिक्षाको कुरा पनि जोडिएको थियो ।’
किंग्सटनस्थित उनी जन्मिएको माभरेलीको परिचय नै गरिबी, अभाव र अपराधिक गतिविधी धेरै हुने ठाउँका रुपमा हुन्थ्यो । जहाँ गोलिकाण्ड सामान्यजस्तै हुन्थ्यो । त्यसैले उनको बाल्यकाल पनि संघर्षपूर्ण रुपमा बित्यो । आमाको एउटा निर्णयले रहिमलाई जमैकाबाट इंग्लिस भूमीसम्ममा त पुर्यायो ।
उनलाई इंग्ल्यान्डको राष्ट्रिय टिम र प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी हुँदै विश्वभरिका फुटबलप्रेमीका लागि एक ‘आइकोनिक फुटबलर’का रुपमा स्थापित गरिरहको छ ।
‘म पाँच वर्षको हुँदा हामी लन्डन गएका थियौं तर त्यहाँको अवस्था धेरै फरक थियो । मसँग पैसा कहाँबाट हुन्थ्यो र ? तर पनि आमाले मलाई अभाव हुन दिनुहुन्न थियो । मेरा अभाव टार्न आमाले सफाइको काम गर्नुहुन्थ्यो । यो कुरा सम्झँदा अहिले पनि दुःख लाग्छ । म घरमा बस्ने, आमा सफाइकर्मीका रुपमा शौचालय सफा गर्ने, यो हुँदैन भन्दै म धेरै पटक रोएको छु,’ उनी सम्झन्छन् ।
रहिम २६ वर्षका भए । उनले अहिले भने सबै कुरा प्राप्त गरेका छन् । आफ्नो जीवनका असीम उपलब्धिहरू निरन्तर पाइरहेका छन् । इंग्ल्यान्डको राष्ट्रिय टोलीमा त उनी निर्विकल्प खेलाडीको रुपमा स्थापित भए नै, क्लब करिअरमा पनि उनी म्यानचेस्टर सिटीका महत्वपूर्ण सदस्यका रुपमा रहेका छन् ।
उनको सफलताको सुरुवात भने सन् २०१५ को जुलाईमा लिभरपुलबाट सिटी जाँदै गर्दाबाट भयो । जतिबेला उनी नामी फुटबलरका रुपमा स्थापित भए । उनलाई तत्कालीन समयमा सर्वाधिक मँहगो यू-२१ खेलाडीका रुपमा सिटीले भित्र्याएको थियो ।
फुटबल जीवन सुरू हुनुअघि जब उनी लन्डन पुगेपछि उनी एक ‘खराव बच्चा’का रुपमा थिए । उनका क्रियाकलापबाट आजित भएर विद्यालयहरुले लामो समय उनलाई टिकाउनै सकेनन् । उनको जिवनमा पनि ग्याङ्गस्टारको छाया परेकाले उनी केही हदसम्म अराजक थिए ।
रहिम भन्छन्, ‘प्राथमिक तह पढ्दासम्म म निकै खराब थिएँ । मलाई विद्यालयबाट निकालिएको थियो । विद्यालयले सिधै ननिकाले पनि मलाई विशेष विद्यालयमा भर्ना गर्नुपर्छ भनेर उनीहरू (विद्यालयका अधिकारीहरू) ले मेरी आमालाई भनेका थिए ।’ उनले भन्छन् ।
उनको फुटबलमा अस्वभाविक लगाव थियो । तिमीलाई मनपर्ने कुरा के हो भनेर सोध्नेहरुलाई रहिमको जवाफ हुन्थ्यो, ‘आई लभ प्लेइङ फुटबल ।’
फुटबलप्रति उनको अगाध प्रेम देखेर एक शिक्षकले भनेका थिए , ‘यदि तिमी हिँडिरहेको बाटोमा सफल भयौ भने १७ वर्षमा नै इंग्ल्यान्डको खेलाडीका रुपमा चिनिनेछौ, अन्यथा कैदीको रुपमा जेलमा हुनेछौ ।’
रहिम वेम्बलीको छायाँमा हुर्कंदै थिए । उनको खेल कौशलले एक न एक दिन उनलाई वेम्बली मैदानमा पुर्या उनेछ भन्ने कुरा थप स्पष्ट पार्दै थियो ।
उनका शिक्षक क्रिस बेसीले उनको प्रतिभालाई नजिबाट हेरिरहेका थिए । शैक्षिक रुपमा उनलाई सामान्य विद्यार्थीको संज्ञा दिनु गलत थियो । किनभने उनी अन्यभन्दा फरक थिए । बेसी भन्छन्, ‘रहीम धेरै अर्थमा बौद्धिक थिए ।’ भर्नेन हाउसमा उनलाई विशेष शिक्षाका लागि राखिएको भएपनि रहिमजस्ता बच्चामा उनले असाधारण क्षमता देखे ।
उनको फुटबल प्रतिभा अल्फा र ओमेगा युथ क्लबबाट सुरू भएको थियो । जतिबेला नै प्रिमियर लिग क्लब क्विन्स पार्क रेन्जर्सले उनको प्रतिभामाथि आँखा लगाएको थियो । उनी त्यहाँ खेलिरहेकामध्ये फरक थिए । क्युपिआर एकेडेमीका तत्कालीन निर्देशक स्टीभ गेलले अनुभव साट्दै भने, ‘त्यो टिममा राम्रो र नराम्रो दुवै चिज थियो । एउटा खेल ६-५ ले सकियो । जहाँ रहिम एक्लैले पाँच गोल गर्दा बाँकीले ६ गोल गरेका थिए ।
१४ वर्षको उमेरमा क्युपिआर एकेडेमीमा आएसँगै उनी क्युपिआरको यु-१८ टिममा समेटिए । म्यान्चेस्टर सिटीले उनको खेल कलालाई नियालिरहेको त थियो, तर लिभरपुल र फूलह्यामले उनलाई अनुबन्धको प्रस्तावै गरे । नभन्दै उनी किशोर अवस्थामै १ मिलियन युरोमा लिभरपुलमा अनुबन्ध भए ।
लिभरपूलमा डेब्यू गर्दा उनीमात्र १७ वर्ष १०७ दिनका थिए । उनी लिभरपूलको इतिहासमै सर्वाधिक कम उमेरमा डेब्यू गर्ने तेस्रो खेलाडी थिए ।
एनफील्डमा १२९ खेलमा उनले २३ गोल गरे । उनी २०१४ मा युरोपियन गोल्डेन ब्वाइका रुपमा चिनिए । उनीले त्यसबेला युरोपको उत्कृष्ट युवा खेलाडीको उपाधिसमेत पाए । यसअघि यो उपाधि सर्जिओ अगुएरो, मारियो बालाटोली, लियोनेल मेस्सी र पाउल पोग्बाले हासिल गरेका थिए ।
उनले २०१५ को जुलाईमा म्यानचेस्टर सिटीसँग पाँच वर्षे सम्झौता गरे । अहिले उनी सिटीका एक ‘कि प्लेयर’का रुपमा स्थापित छन् ।
त्यसो त एक समय उनलाई राष्ट्रिय पत्रिकाले धुमपान गर्ने, नाइट्रस अक्साइड लिने अराजक व्यक्तिका रुपमा चित्रित गरेको थियो । यस्तो अवस्थामा यदि उनी झन् विक्षिप्त भएको भए फुटबलको एक प्रतिभा नफक्रिँदै झर्न सक्थ्यो । तर उनी जोगिए ।
रहिमका लागि उनको परिवारले धेरै कुरा त्यागेको छ । उनको खुसीका लागि धेरैपटक आमाले आफ्ना खुशीहरुलाई तिलाञ्जली दिएकी छन् । रहिम भन्छन्, ‘तर अहिले मेरो लागि आमाले र दिदीले तनाव लिनु पर्दैन, किनभने अहिले म बुझ्ने भइसकेको छु ।’
१७ वर्षको उमेरमै वेम्बली मैदानमा खेल्ने अवसर पाएका रहिमले इंग्ल्यान्डको इतिहास लेखाउने खेलाडीका रुपमा आफूलाई स्थापित गरेका छन् । वेम्बली मैदानको छेउमा सिकेको फुटबल सोही मैदानमा खेल्ने उनको सपना पूरामात्र भएको छैन । रहिम वेम्बलीमा नै ५५ वर्षपछि इंग्ल्यान्डलाई नयाँ इतिहास लेखाउने साक्षी बनेका छन् । बुबाको अनुहारमा आफ्नो खुशी नदेखे पनि रहिम हजारौंको खुशीको अनुहारमा आफ्नो चित्र देख्ने भएका छन् ।
५५ वर्षपछि नकआउटमा जर्मनीलाई हराउन सफल भएको इंग्ल्यान्डमा उनीप्रतिको सम्मान झनै अग्लो भएको छ । मैदानमा उनी छाएको क्षण इंग्लिस समर्थक साँच्चिकै हर्षविभोर हुने गर्छन् । त्यसैले त वेम्बली मैदानमा जर्मनीसँगको महत्वपूर्ण खेलमा उनले गोल गर्दा लामो समयसम्म समर्थकले उनको नाम लिइरहे रहिम…रहिम… हाम्रो रहिम… । गजब संयोग यस्तो पनि बनेको छ कि रहिमले जब गोल गर्छन्, इंग्ल्यान्डले त्यो खेल जित्छ नै ।
उनलाई यसले हौस्याएको पनि छ । तर अझै धेरै कुरा बाँकी पनि छ । इंग्ल्यान्डको मुख्य प्रतियोगिताको उपाधि तोड्ने चुनौती त फेरिपनि रहिमकै पुस्तामा छ र इंग्ल्यान्ड त्यसको प्रतीक्षामा छ । अहिले चलिरहेको युरो २०२० मा इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
(एजेन्सीको सहयोगमा)