काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्समाथि रोमाञ्चक जित निकालेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले अन्तिम ओभरमा एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो ।
विराटनगरको जितमा बसिर अहमदले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे । ४३ बलको सामना गरेका बसिर ६२ रन बनाउँदै अविजित रहे र टोलीलाई जितसम्म डोहोर्याए । त्यस्तै, नारायण जोशीले २५, शाहिल पटेलले १९ र साम हिजलेटले १६ रनको योगदान दिए ।
ओपनर लोकेश बम ६, प्रतिश जिसी ६ र मार्चेन्ट डि लिङ २ रनमा आउट हुँदा जर्ज मुन्से भने शून्य रनमै पेभेलियन फर्किए । कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।
बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले समान दुई-दुई विकेट लिए । पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोको नाममा एक-एक विकेट रह्यो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो ।
कर्णालीका लागि ओपनर प्रियांक पन्चालले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले । विलियम बोसिष्टो ४८ र नजिबुल्लाह जाद्रान १२ रनमा अविजित रहे ।
गुल्सन झाले २० रन जोड्दा मार्क वाट ६ रनमा आउट भए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एक-एक विकेट लिए ।