नेपाल सरकार र थरुहट संघर्ष समितिबीचको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। गृह मन्त्रालयमा मंगलबार भएको वार्ता सकारात्मक भएको दुवै पक्षका वार्ता टोलीका सदस्यहरूले जनाएका छन्।
सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले पहिलो चरणको वार्ता सौहार्दपूर्ण र सकारात्मक भएको बताए। “वार्ता सकारात्मक दिशामा अगाडि बढेको छ, केही दिनभित्र पुनः छलफलमा बस्छौं,” उनले भने।
https://www.facebook.com/rajanbha/posts/10226422853904659
थारू कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। उनले हिमालखबरसँग भने, “हामीले आफ्नो माग प्रस्तुत गर्यौं, उहाँहरूले सकारात्मक छ भन्नुभयो।”
थाकस, थरुहट–थारूवान् संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले रेशम चौधरीको रिहाइसहितका १९ बुँदे माग राखेका छन्।
सरकारले वार्ताका लागि १६ चैतमा गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य रहेको टोली गठन गरेको थियो।
थाकसले वार्ता शुरू हुनु केही समयअघि मात्रै सांसद पद्मनारायण चौधरी, पूर्वसांसद रुक्मिणी चौधरी, थाकसका महामन्त्री प्रेमीलाल चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी सदस्य रहेको टोली गठन गरेको थियो।