काठमाडौं - संविधान दिवसको अवसर पारेरआजदेखि काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आउने भएको छ। आज बिहान ९ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यस्तो बसको उद्घाटन गर्नेछन्।
उद्घाटनको दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायक नगरपालिकाका मेयरहरु मात्र चढ्ने छन् ।
यात्रुहरुका लागि भने असोज ४ गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडीबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिनु नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।
यात्रु कुरेर बस्ने छैनन् द्रुत सेवाका बस
यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार ‘द्रुत बस सेवा’ भनेर लेखिएका बस सेवाको बुधबार उद्घाटनको दिन यात्रुहरु चढ्न पाउने छैनन् ।
यात्रुहरुको सेवाका लागि भोलिपल्ट मात्र यी बसहरु हाजिर हुनेछन् । ‘बुधबार नमूना मात्रै देखाउने हो, ४ असोजदेखि पूर्णरुपमा सञ्चालन हुन्छ’, विभागका प्रवक्ता पनेरुले भने ।
रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागका प्रवक्ता पनेरुले जानकारी दिए ।
विभागका अनुसार यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्ने छन् । द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायत स्थानमा यात्रु चढाउने र ओराल्न मात्रै हुनेछ । अरु बसहरु जस्तो द्रुत सेवाका बसहरुले यात्रुहरु कुरेर बस्ने छैनन् ।
द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमा मात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई द्रुत सेवाका लगि २५ वटा बस व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । सार्वजनिक यातायातलाई ट्राफिक जामबाट मुक्त गर्न संसारभर यस्ता द्रुत सेवाका सवारी साधन चलाउने गरिन्छ । नेपालमा भने यो पहिलोपटक सुरु हुन थालेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।