काठमाडौं- नेपाली कांग्रेसका नेतासमेत रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन् । उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए ।
शनिवार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तो धारणा राखेका हुन् । उनले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताए ।
मन्त्री बडूले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जीपी कोइराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिबद्धतासमेत जनाए ।