×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीन अर्धशतकका बाबजुद नेपालको दुर्भाग्य: स्कटल्यान्डसँग २ रनले पराजित

तीन अर्धशतकका बाबजुद नेपालको दुर्भाग्य: स्कटल्यान्डसँग २ रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा भएको त्रिकोणात्मक शृङ्खलाको एक रोमाञ्चक खेलमा नेपालले घरेलु टोलीविरुद्ध अविश्वसनीय लडाइँ लड्दै मात्र २ रनको पीडादायी हार बेहोरेको छ। जितका लागि ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले अन्तिम बलसम्म सङ्घर्ष गरे पनि निर्धारित ५० ओभरमा ३२१ रनमा अलआउट भयो।

नेपालको यो साहसिक लक्ष्य पछ्याउने क्रममा मध्यक्रमका ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गरे। भीम सार्कीले सर्वाधिक ७३ रनको संयमित पारी खेले भने अन्त्यतिर विस्फोटक ब्याटिङ गरेका सोमपाल कामीले मात्र ४४ बलमा चार छक्कासहित ६७ रन जोडे। त्यस्तै, दीपेन्द्र सिंह ऐरीले पनि ५६ रनको महत्वपूर्ण योगदान दिए। तर, शीर्ष क्रमका ब्याट्सम्यान कुशल भुर्तेल (१७), आसिफ शेख (८) र कप्तान रोहित पौडेल (३) सस्तैमा समेटिँदा नेपाल सुरुमै दबाबमा परेको थियो, जसले अन्ततः जित र हारको फरक बनायो।

यसअघि डुन्डेस्थित फोर्टहिल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले कप्तान रिची बेरिङ्टनको सानदार शतकको मद्दतले विशाल योगफल खडा गरेको थियो। बेरिङ्टनले १०२ रनको शतकीय पारी खेल्दा चार्ली टेयरले पनि ६८ रन जोडे। बलिङतर्फ नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए।

स्कटल्यान्डका लागि म्याकेन्जी जोन्सले तीन विकेट लिएर नेपालको जितको सपनामा बाधक बने। यो हारका बाबजुद नेपालले उच्च स्कोरको जवाफमा देखाएको जुझारु प्रदर्शनले क्रिकेट प्रशंसकहरूको मन जितेको छ।
 

प्रतिकृया दिनुहोस्