काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)का सात केन्द्रीय सदस्यहरुले कार्यसम्पादन समितिको राजीनामा माग गरेका छन् ।
क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, सञ्जयराज सिंह, दाउन अन्सारी, अमितवीर पाण्डे, करण महतरा क्षेत्री, धर्मराज गिरी र छुम्बी लामाले आइतबार नेपाली टी–२० लिगको पत्रकार सम्मलेन कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा आयोजना भएको टी–२० लिग प्रतियोगितामा क्यानसँग सम्झौता गरेको रणनीतिक र व्यावसायिक साझेदार कम्पनी सेभेन थ्री स्पोर्ट्सकै प्रमुख स्पट फिक्सिङमा संलग्न हुनु दुखद् रहेको भन्दै कार्यसम्पादन समिति दोषी रहेको आरोप लगाइएका छन् ।
‘स्पट फिक्सिङ हुँदा संस्था बिरलै संलग्न हुन्छन् । तर यहाँ त साझेदार कम्पनी नै फिक्सिङमा संलग्न छ र जुन कम्पनीसँग क्यानले सम्झौता गरेको छ । त्यसैले क्यान नेतृत्व र कार्य सम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न सक्दैन’ सदस्यहरुले माग गरेका हुन् ।
नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सञ्जयराज सिंहले लिगको आयोजनाका लागि रणनैतिक र व्यवसायिक साझेदारका रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेर नेतृत्वले गल्ती गरेको बताएका छन् । गत पुस ९ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल टी-२० लिगका दौरान स्पट फिक्सिङ भएको र गैरकानुनी काम भएकोमा उनीहरूले दु:ख प्रकट गरेका छन् ।
खेलाडीको उक्त अभिव्यक्तिपछि लिगमा विवाद बाहिरिएको थियो । सो घटनापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नेपाल लिगमा स्पट फिक्सिङ भएको निस्कर्ष निकालेको थियो । प्रारम्भिक अनुसन्धानपछि सिआईबीले पूर्वराष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।