काठमाडौं - एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आफ्नो सानदार प्रदर्शन जारी राखेको छ। उज्वेकिस्तानमा भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को फराकिलो र सानदार जित निकालेको हो।
यो जितसँगै नेपाल एसियन कपमा छनोट हुने संघारमा पुगेको छ।
कप्तान सावित्राको सानदार ह्याट्रिक
नेपालको फराकिलो जितमा कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा'ले ह्याट्रिक पूरा गरिन्। उनले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेकी हुन्। पहिलो हाफमा ४–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप चार गोल गरेको थियो।
यसैगरी, गीता रानाले व्यक्तिगत दुई गोल गरिन् भने पूजा राना, निशा थोकर र रेखा पौडेलले समान एक-एक गोल आफ्नो नाममा लेखाए। खेलको सातौं मिनेटमा गीताले गोलको खाता खोलेकी थिइन् भने दोस्रो हाफको ५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। निशाले ६२औं, रेखाले ७८औं र पूजाले ८९औं मिनेटमा गोल थपेका थिए।
अब उज्वेकिस्तानसँग निर्णायक भिडन्त
यसअघि आफ्नो पहिलो खेलमा लाओसलाई ९-० ले पराजित गरेको नेपालले लगातार दुई खेलमा १७ गोल गरिसकेको छ भने कुनै गोल खाएको छैन।
अब नेपालले छनोटको अन्तिम तथा निर्णायक खेलमा शुक्रबार आयोजक उज्वेकिस्तानको सामना गर्नेछ। उक्त खेलमा जित हात पारेमा नेपाल सन् २०२६ मा हुने एएफसी महिला एसियन कपका लागि ऐतिहासिक रूपमा छनोट हुनेछ।