नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दोस्रो बजारको प्रारम्भिक कारोबार सत्र (प्रि-ओपिनिङ)मा हाल परिवर्तन सीमा ५ प्रतिशत रहेकोमा सो सीमालाई घटाएर २ प्रतिशत कायम गरेको छ ।
दोस्रो बजारमा किनबेच गर्दा हाल न्यूनतम मूल्य परिवर्तन सीमा एक रुपैयाँ रहेकोमा सोलाई घटाई १० पैसा कायम गरेको हो । बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन (धितोपत्र कारोबार सञ्चालन, दोस्रो संशोधन विनियमावली, २०७८) स्वीकृत गर्दै यो व्यवस्था कायम गर्न स्वीकृति दिएको हो।
योसँगै अब कुनै पनि कम्पनीको सेयर दोस्रो बजारमा किनबेच गर्दा लगाइने मूल्य १० पैसामा पनि हाल्न पाइनेछ। यो व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई कार्यान्वयनमा ल्याउन पनि बोर्डले निर्देशन दिएको छ।
दोस्रो बजारमा हाल सेयर खरिद वा बिक्री अर्डरका लागि मूल्य प्रविष्ट गर्दा १ रुपैयाँको फरकमात्र राख्न पाइने व्यवस्था रहेको थियो।
छिमेकी देशलगायत अन्तर्राष्ट्रिय असल अभ्यासअनुरुप हुने गरी धितोपत्र कारोबारको न्यूनतम मूल्य सीमालाई परिवर्तन गरिएको र यसबाट खरिदकर्ता र बिक्रीकर्ताले प्रतिस्पर्धी मूल्यमा धितोपत्र खरिदबिक्री गर्न सक्नुका साथै कारोबारमा समेत वृद्धि हुने देखिएको धितोपत्र बोर्डले जनाएको छ ।