काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वले टुकुचामाथि बनेका भवनको वैधानिक प्रमाण खोजी गरिरहेको छ । महानगरले विभिन्न निकायसँगको समन्वयमा सम्भावित क्षेत्रमा उत्खनन जारी राखेको हो ।
महानगरको टोलीले शनिबार कमलादीस्थित लक्ष्मी बैङ्क नजिकै उत्खनन गर्दा टुकुचा खोला भेटियो । करिब १२ फिटको खाल्डो खन्दा टुकुचाको अवशेष भेटाएको हो ।
महानगरले यसअघि पनि जय नेपाल हलको कम्पाउन्डमा उत्खनन गर्दा पनि १५ फिट मुनि टुकुचा भेटाएको थियो । महानगरले टुकुचालाई खुला रूपमा बग्न दिने बताइरहेको छ । तर महानगरको टुकुचा अध्ययन टोलीले टुकुचामाथि बनेका भवनको वैधानिक प्रमाण खोजी गरिरहेको पाइएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले टुकुचा कुन ठाउँबाट कसरी बग्छ भन्ने कुरा नै अनुसन्धानको विषय बनेको बताए ।
प्रवक्ता मानन्धरका अनुसार कानुनी वैधानिकता, आधिकारिकता प्रमाणितका विषयमा विभिन्न निकायसँग छलफल भइरहेको छ । सहरी विकास मन्त्रालय, सहरी विकास आयोजना, घरधनी, नापी विभाग र मालपोत कार्यालयको समन्वयमा अध्ययन भइरहेको उनले जानकारी दिए ।
धेरै वर्ष पहिलेदेखि टुकुचा जमिन मुनि नै बगिरहेको वा पछि अतिक्रमणमा परेको भन्नेबारे पनि अध्ययन भइरहेको प्रवक्ता मानन्धरले बताए ।
टुकुचामाथि ठूला ठूला सरकारी तथा गैरसरकारी विल्डिङ्समेत बनेका छन् । महानगरका मेयर बालेन्द्र शाह ९बालेन० ले अवैध संरचनामा डोजर चलाउने क्रममा टुकुचा अतिक्रमण भएकोबारे स्थानीयबाटै निवेदन परेको थियो । सो निवेदनका आधारमा टुकुचा खोज्ने योजना बालेनले बनाएको स्रोत बताउँछ ।
साउन १२ गते महानगरले ३५ दिने सूचना जारी गर्दै टुकुचा मिचेर बनाएका अवैध संरचना हटाउन अल्टिमेटम जारी गरेको थियो ।
हाल टुकुचा खोजीको लागि वडा वडाबाट महानगर विवरण सङ्कलन गरिरहेको छ । टुकचा नक्सामा देखिँदैन । नक्सामा नदेखिएको टुकुचा कहिलेदेखि यस्तो भने भन्नेबारे पनि अध्ययन भइरहेको छ । टुकुचा खोला मिचिएको सम्भावित क्षेत्रमा उत्खनन गर्दै जाने र विभिन्न निकायसँगको छलफलमा म्यापिङ गर्दै अघि बढ्ने योजना महानगरको छ ।
खोला वरपर चार मिटर कायम गर्ने गरी टुकुचा खोलालाई खुला बनाइँदै लैजाने भनिए पनि तत्काल डोजर चलाउन सकिने अवस्था नरहेको महानगरले जनाएको छ ।
वडा नम्बर ४ स्थित निर्मल निवास पछाडिबाट सुरु भएको टुकुचा खोला नारायणहिटी राजदरबार, जय नेपाल हल, न्यु प्लाजा, पुतलीसडक, कमलादी क्षेत्रस्थित काठमाडौँ प्लाजा हुँदै बग्छ ।
त्यस्तै बालुवाटार चिनियाँ दूतावासको पर्खाल सकिनेबित्तिकै उत्तरतर्फ लाग्दा टुकुचा छोपेर मान्छे हिँड्ने पेटी बनाइएको छ । टुकुचा हाल बीच-बीचमा जमिन मुनि बग्छ । प्रदर्शनीमार्गको केहीस्थानमा टुकुचा देखिन्छ । त्यसपछि केही स्थानमा गायब भएर थापाथलीस्थित वाग्मती नदीमा मिसिन्छ ।
टुकुचा वडा नम्बर ४,३, २, १ २८ र ११ हुँदै वाग्मती नदीमा मिसिन्छ । टुकुचाबारे यसअघि पनि विभिन्न निकायले अध्ययन गरिसकेका थिए । तर कुनै निष्कर्षमा नपुग्दा कुनै पनि काम अगाडि बढ्न सकेको थिए ।
टुकुचामाथि ५८१ कित्ता जग्गामा घर तथा भवनहरु बनाइएको खुलेको छ । तर घरधनी नै दोषी हुन् कि होइनन् भन्ने प्रमाण खोजीको विषय बनेको महानगरका एक उच्च अधिकारी बताउँछन् ।
सहरी विकास मन्त्रालयले टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदन महानगरले स्वीकार गरिसकेको छ । सोही प्रतिवेदनका आधारमा टुकुचा उत्खनन गरिरहेको भइरहेको छ ।