काठमाडौं - एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा नेपालले पहिलो हार ब्यहोरेको छ । लिग चरणको अन्तिम खेलमा नेपाल बरोडा क्रिकेट संघसँग ३७ रनले पराजित भयो । बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन मात्रै बनायो।
यद्यपि, नेपाल यसअघि नै फाइनल पुगिसकेको छ। नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ठ लयलाई समात्दै बरोडालाई २७ रनले पराजित गरेको थियो।
बुधबार सम्पन्न तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको थियो। मुख्य प्रशिक्षक मोन्टी देसाईंले बरोडाविरुद्धको खेलमा नियमित कप्तान रोहितकुमार पौडेलसहित सोमपाल कामी, अभिनाष बोहरा र आशिफ शेखलाई आराम दिइएका थिए।