नेपाल तरुण दलले बाढी र पहिरो पीडितको उद्धार र राहतमा खटिन निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गर्दै बाढी र पहिरोपीडितको उद्धार र राहत वितरण कार्यमा जुट्न निर्देशन दिएका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछ ।"
अविरल रुपमा वर्षा भइ बाढी पहिरोको कारण केही दिनदेखि सिन्धुपाल्चोक, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पा, मनाङ लगायत देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केहि दिन लगातार वर्षा हुने पूर्वानुमान गरिएको छ । यस्तो समयमा खोला, नदी, नालाहरुमा पानीको बहाव बढ्ने र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ ।
त्यसैले यस्तो अवस्थामा साथै यस विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न तरुण दलले निर्देशन दिएको हो ।