×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महाभारत र खानी खोलाका तेत्तीस सय घरमा विद्युत् पुर्‍याइँदै

महाभारत र खानी खोलाका तेत्तीस सय घरमा विद्युत् पुर्‍याइँदै

काभ्रे- जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानी खोला गाउँपालिकाको तीन हजार तीन सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन् । यसका लागि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै दुई गाउँपालिकाको बासिन्दालाई बिजुली पुर्‍याउन धमाधम काम भइरहेको छ ।

दुई गाउँपालिकाका स्थानीयलाई बिजुलीको उज्यालो दिलाउन तत्कालीन सरकारले एक अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरिएको थियो । तत्कालीन अवस्थामा जिल्लास्थित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितलाई सम्मानार्थ महाभारतको बनखुमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधिले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतालाई दुई गाउँपालिकामा बिजुलीको मागपत्र पेस गरेका थिए । सोही मागका आधारमा सरकारद्वारा विद्युतीकरणको रकम विनियोजन गरिएको थियो ।

रकम अपुग भएका कारण आयोजना सम्पन्न गर्न थप ३० करोड माग गरी विद्युतीकरणको कामलाई अन्तिम चरणमा पुर्‍याइएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार महाभारत गाउँपालिकाको वडा नं ३ फोक्सिङटार, ४ र ५ स्थित बुढा खानीका सबै घरमा बिजुली बत्ती बल्ने गरी सबै काम हालै सम्पन्न भएको छ ।

गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदानसमेत उपलब्ध गराएको जिम्बाले बताए । उनका अनुसार हाल तीन वटा वडाका लागि एक हजार तीन सय घरधुरीका लागि मिटर पुर्‍याइएको छ भने हाल घर–घरमा वायरिङको कार्य भइरहेको छ । हाल शाखा लाइन विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ ।

महाभारत गाउँपालिकामा तीन हजार तीन सय घरधुरी छन् । सबै घरमा बिजुली, खानेपानी पुर्‍याउने गरी कार्य भइरहेको गाउँपालिका प्रमुख जिम्बाले बताए । यस प्रसारण लाइनबाट खानी खोलाको दुई वटा वडाका बासिन्दा लाभान्वित हुने जनाइएको छ ।

महाभारत गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कान्छामान जिम्बाका अनुसार यही वर्षभित्र सबै घरमा बिजुली बत्ती बालिसक्ने गरी कामलाई तीव्रता दिइएको छ । केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग, कलकारखाना सञ्चालन गर्न सकिएको थिएन । यसअघि लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो ।

प्रतिकृया दिनुहोस्