×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यसरी गर्न सकिन्छ एकान्तबास बसेको ठाउँको सरसफाइ

यसरी गर्न सकिन्छ एकान्तबास बसेको ठाउँको सरसफाइ

काठमाडाैँ- कोरोना महामारीमा एउटा चुनौतीपूर्ण काम उचित तरिकाले सरसफाइ गर्नु पनि हो । सङ्क्रमण फैलन नदिन सङ्क्रमित बसेको ठाउँ र सङ्क्रमितले प्रयोग गरेको सामग्रीको सही तरिकाले सरसफाइ गर्नुपर्ने हुन्छ । सङ्क्रमित एकान्तबास बसेको ठाउँमा सरसफाइ गर्दा निम्नलिखित कुराहरूमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

  • सङ्क्रमित व्यक्तिको कोठा तथा कोठामा भएका धेरै छोइने सतहहरू जस्तै टेबल, फर्निचर, झ्याल ढोकाको ह्यान्डललाई कम्तीमा दिनको एकपटक साबुन पानीले सफा गर्ने र घरायसी प्रयोग गरिने क्लोरिनको झोलले पुछ्ने ।
  • सङ्क्रमित व्यक्तिले दैनिक प्रयोग गर्ने भाँडाकुँडालाई प्रयोग पछि राम्रोसँग साबुन पानीले सफा गर्ने ।
  • सङ्क्रमित व्यक्तिले प्रयोग गरेको कपडालाई सुरक्षित तरिकाले झोलामा जम्मा गर्ने तथा त्यस्ता सामग्रीलाई अन्य व्यक्तिले पन्जा र मास्कको प्रयोग गरेर सर्फ वा साबुनले राम्रोसँग धुने । यसरी धोएको लुगालाई ०.०५ प्रतिशत क्लोरिनको झोलमा ३० मिनेटसम्म राख्ने अनि मात्र सुकाउने । यसो गर्दा सङ्क्रमित व्यक्तिले प्रयोग गरेको लुगा निसङ्क्रमित हुन्छ ।
  • यदि घरमा वासिङ मेसिन छ भने ६० देखि ९० डिग्री सेल्सियस तापक्रममा लुगालाई मेसिनमा धोएर सुकाउने ।
  • यदि यी काम गर्न बाक्लो र पुनः प्रयोग गर्न मिल्ने पन्जा प्रयोग भएको छ भने ०.१ प्रतिशत क्लोरिन झोलले निसंक्रमण गर्ने ।
  • पुनः प्रयोग गर्न नमिल्ने पन्जालाई प्रयोगपछि एउटा प्लास्टिकको झोलामा जम्मा गरी ७२ घण्टापछि अन्य फोहोर जस्तै तोकिएको ठाउँमा विसर्जन गर्ने ।
  • धुलो नभएको ठाउँ वा सफा भुईँ, बढी छोइराख्ने सतहहरू जस्तै ढोकाको ह्यान्डल, टेबल, रेलिङ्ग निसंक्रमण गर्न ०.१ क्लोरिन झोलले सफा गर्नुपर्छ भने धोइसकेका लुगा, माझिसेको भाँडा निसंक्रमण गर्न ०.५ प्रतिशत क्लोरिन झोलले सफा गर्नुपर्छ ।

याे पनि : कस्ता कोभिड सङ्क्रमित बस्न सक्छन् घरमै एकान्तबास ?

क्लोरिन झोल कसरी बनाउने ?
नेपालमा उपलब्ध हुने क्लोरिन विभिन्न प्रकारमा उपलब्ध छ जस्तै झोल, पाउडर, चक्की आदी । यी फरक प्रकार र मात्रामा पाइने क्लोरिनलाई आवश्यकता अनुसार मात्रा मिलाएर प्रयोग गर्नुपर्छ । सोडियम हाइपोक्लोराइट, क्याल्सियम हाइपोक्लोराइट नेपालमा उपलब्ध हुने क्लोरिन कीटाणुनाशक हुन् ।

०.१ प्रतिशत क्लोरिन झोल बनाउने विधि
गाढा झोलबाट बनाउँदा ४ भाग पानीमा १ भाग गाढा झोल बाल्टीमा राख्ने । बाल्टिन भरि बनाउँदा सम्म यही मात्रा दोहोर्‍याउने । एचटिएचबाट बनाउँदा २० लिटर पानीमा हाइ टेस्ट हाइपोक्लोराइट २ चिया चम्चा राख्ने । क्लोरिन पाउडरबाट बनाउँदा ४ चिया चम्चा क्लोरिन पाउडर २० लिटर पानीमा राख्ने र १० सेकेण्डसम्म घुल्ने ।

थप : घरमै एकान्तबासमा बसेकाहरूले यी कुरामा पुर्‍याउनुपर्छ विशेष ध्यान

त्यसपछि यी तिनै तरिकाको झोल प्रयोग गर्न ३० मिनेट पर्खनुपर्छ । झोललाई बिर्को भएको भाँडोमा राख्ने र सिधा घाम पर्नबाट बचाउने । यसरी तयार पारिएको ०.१ प्रतिशत क्लोरिन झोललाई ०.०५ प्रतिशत क्लोरिन झोल बनाउनका लागि आधा भाग ०.१ प्रतिशत क्लोरिन झोलमा आधा परिमाण पानी मिसाउन सकिन्छ । यसरी बनाएको झोल आवश्यकता अनुसार सरसफाइ गरी निसंक्रमण गर्न प्रयोग गर्न सकिन्छ ।

स्रोत: स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित ‘होम आइसोलेसनमा बस्ने व्यक्तिका लागि हाते पुस्तिकाबाट’

प्रतिकृया दिनुहोस्