जापान। घान्द्रुक समाज जापानको आयोजनामा तमु ‘त’ ल्होसार तथा नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। गत शुक्रबार (जनवरी २) हिगासी कानागावास्थित ‘कोसेली एशियन डाइनिङ’मा समाजका अध्यक्ष युक्तमान गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) जापानका अध्यक्ष श्री भक्त गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो। त्यसैगरी, विशेष अतिथिहरूमा तमु धीं जापानका संरक्षक हर्क गुरुङ, संस्थापक अध्यक्ष बुद्धि गुरुङ, निवर्तमान अध्यक्ष विजयकुमार गुरुङ, महिला विभाग प्रमुख नवीना गुरुङ र ‘मेरो भ्वाइस युनिभर्स सिजन–२’ का विजेता प्रथम गुरुङ रहनुभएको थियो ।
कार्यक्रमको पहिलो चरणमा समाजका सदस्य काशी गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि भक्त गुरुङ र विशेष अतिथि हर्क गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो। सोही अवसरमा ‘मेरो भ्वाइस युनिभर्स’ विजेता प्रथम गुरुङलाई खादा, फेटा, नेपाली टोपी र मायाको चिनोसहित विशेष सम्मान गरिएको थियो। साथै, प्रमुख अतिथि भक्त गुरुङ र संरक्षक हर्क गुरुङलाई पनि समाजको तर्फबाट सम्मान प्रदान गरियो।
कार्यक्रममा संस्थाका नयाँ आजीवन सदस्यहरू पुष्कल गुरुङ, सुस्मान गुरुङ र रविन्द्र गुरुङलाई सम्मानपत्र वितरण गरिएको थियो भने अन्य १० जना नयाँ सदस्यहरूलाई खादा ओढाएर स्वागत गरिएको थियो।
सांस्कृतिक खण्डमा विमला गुरुङ र सुप्रिया गुरुङको स्वागत नृत्य तथा सोनिका गुरुङ, सम्झना गुरुङ र रेजिना पुनको सामूहिक नृत्यले रौनक थपेको थियो। सम्मानित व्यक्तित्व प्रथम गुरुङको सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।
अन्त्यमा, अध्यक्ष युक्तमान गुरुङले संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद गुरुङले गर्नुभएको थियो।