काठमाडौं - काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे ।
मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरे । यससँगै मेसौकेले लिगमा आफ्नो आठौं गोल पूरा गरेका छन् । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् । निर्णायक गोलबाहेक दुबै टिमले गोलको थुप्रै अवसर पाएका थिए । तर, गोल गर्न सकेनन् । खेलको २९ औं मिनेटमा धनगढीका दिनेश राजवंशीले मेसौकेलाई फाउल गरेपछि काठमाडौंले करिब २५ यार्डबाट फ्रिकिक पाएको थियो । उक्त फ्रिकिकमा स्टेफेन बिनोङको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ३९ औं मिनेटमा धनगढीका बुद्ध बल तामाङको पासमा रुपेश केसीको प्रहारले दिशा लिन सकेन ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा तेज तामाङको पासमा मेसौकेले धनगढीका डिफेन्डर अशोक खवासलाई बिट गर्दै गरेको प्रहार गरेको बल पोस्टबार माथिबाट गएको थियो । खेलको ४६ औं मिनेटमा धनगढीले गोलको सुनौलो गोलको अवसर गुमायो । काठमाडौंका गोलकिपर विकेश कुथुले फुत्काएको बलमा बुद्ध बलले प्रहार गरेको बल गोललाइन भन्दा केहि अगाडी रहेका फ्लोरेन्टलाई लाग्दै फर्किएको थियो । ५३ औं मिनेटमा धनगढीका मार्की खेलाडी विशाल राईले गोलको अवसर गुमाए । अनमार्क रहेका उनको हेडर बलले पोस्टको दिशा लिन सकेन ।खेलको ५५ औं मिनेटमा अशोक खवासको लामो प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले बल बाहिर फाल्दै गोल हुनबाट जोगाएका थिए । ६५ औं मिनेटमा स्टेफेन बिनोङको प्रहार धनगढीका गोलकिपर किरण चेम्जोङले मुश्किलले बचाए ।
खेलको ७४ औं मिनेटमा मेसौकेको लामो फ्रिकिक बल पोस्ट बारमा लाग्दै फर्किदा काठमाडौं अग्रता दोब्बर बनाउन चुकेको थियो ।
६५ औं मिनेटमा विश्वास श्रेष्ठको लामो पासमा स्टेफेनले अगाढी बढाउदै गरेको प्रहार दोस्रो बार नजिकैबाट बाहिरिन पुग्यो ।
७४ औं मिनेटमा मेसोउकेले बक्स बाहिर पाएको फ्री किक प्रहार क्रसर बारमा लाग्दै फर्किएको थियो ।
खेलको ८३ औं मिनेटमा करिब ३५ यार्ड बाहिरबाट धनगढीक पुजन उपरकोटीको प्रहार बारको केही माथिबाट बाहिरिन पुग्यो ।
यस्तै खेलको अन्तिम मिनेटमा स्टेफेन बिनोङको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।
खेलमा काठमाडौंका फ्लोरेन्ट कोरेया प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।
इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।
पहिलो संकरणको उपाधिसँगै काठमाडौंले ३५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ । यस्तै काठमाडौंले धनगढीविरुद्ध अघिल्ला दुई भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ ।
समूह चरणमा काठमाडौं धनगढीसँग ३-० र पहिलो क्वालिफायरमा अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित भएको थियो । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको थियो ।