×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साविक विजेता लुम्बिनी यू-१९ क्रिकेट प्रतियोगिताको फाइनलमा

साविक विजेता लुम्बिनी यू-१९  क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौं - साविक विजेता लुम्बिनी प्रदेश काठमाडौंमा जारी यू-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार मधेश प्रदेशलाई ५८ रनले पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो ।

लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य पछ्याएको मधेश ४५.४ ओभरमा १ सय ६४ रनमा अलआउट भयो । मधेशका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए । सरफराज मन्सुरले ३१ रन बनाए । अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए ।

लुम्बिनीका लागि अभिसेक गौतमले ३ र विशाल बिक्रम केसीले समान ३/३ विकेट लिए । तुल बहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङले समान १/१ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाउन सक्यो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ पूरा गरे । उनले १ सय २८ बलमा ९ चौका र २ छक्कासहित ८५ रनमा आउट भए ।

यस्तै आकाश त्रिपाटीले २३ रन, विशाल भुषाल र निर्मल गुरुङ ले समान १३/१३ रन बनाए भने देव खनाल ११ रनमा आउट भए । यस्तै नर सार्की २६ रनमा अविजित रहे ।

 यता मधेसका लागि निकेश गुप्ता ३ विकेट, अभिषेक तिवारी र नितेश यादवले समान २/२ विकेट लिए ।

जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ । अब सोमबार हुने फाइनलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशको सामना गर्नेछ ।

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

 प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।

प्रतिकृया दिनुहोस्