काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ५ दलीय गठबन्धनकाबीच भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
शनिबार ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा बोल्दै देउवाले ५ दलीय गठबन्धनबीच स्थानीय तह चुनावमा तालमेल गर्ने निर्णय भइसकेको बताए । उनले ५ दलबीच भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
देउवाले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रलाई छाड्ने संकेत गरेका छन् । नेताहरूले भरतपुरको मेयर कुनै हालत छाड्न नहुने बताएका थिए ।
महामन्त्री गगनकुमार थापाले महानगर र उप–महानगरपालिकाको तालमेलबारे निर्णय गर्नुअघि नगर समिति र जिल्लाको राय लिनुपर्ने बताएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले मेयरमा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन नगरे मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।
सभापति देउवाले भरतपुर नगर समितिको सभापतिले आफूसँग उप–मेयर लड्न तयार छु भनिसकेको बताएका छन् । कांग्रेसले धोका दिन नसक्ने भन्दै देउवाले पार्टीका कारण कुनै हालतमा गठबन्धन टुट्न नहुने बताएको एक नेताले बताएका छन् ।
सभापति देउवाले तालमेल कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसकै भएको बताए । उनले सहमति कार्यान्वयनमा सहजीकरण कांग्रेसले नै गर्नुपर्ने बताएका छन् ।
सभापति देउवाले कांग्रेसकै नेतृत्वमा सरकार रहेको, कांग्रेसकै नेतृत्वमा निर्वाचन परिचालन तथा अनुगमन संयन्त्र बनेको बताए । सबैले चुनावी तालमेलको सहमतिलाई कार्यान्वयनका लागि सहजीकरण गर्नुपर्ने उनले बताएका छन् ।
सभापति देउवा ५ दलीय गठबन्धनप्रति दृढ देखिएका छन् । देउवाले गठबन्धनलाई मिलाएर लैजाने जिम्मेवारी सबै नेताको भएको बताए ।
उनले पार्टीको स्ट्रेन्थअनुसार पदमा दाबी गर्नसमेत निर्देशन दिएका छन् । देउवाको भनाइ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाललाई समर्थन गरिसकेको बैठकमा धारणा राखेपछि नेताहरू चकित परेका छन् ।
बैठकमा महानगरपालिका एवम् उप–महानगरपालिकाको प्रमुख र उप–प्रमुख पदको उम्मेदवारका सम्बन्धमा नेताहरूले धारणा राखेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह–महामन्त्रीहरू फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियारले धारणा राखेका थिए ।
केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, शेखर कोइराला, बलबहादुर के.सी., बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा, एनपी साउँद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगानाले पनि आ–आफ्नो धारणा राखेका छन् ।
चितवन कांग्रेसले भरतपुर महानगरमा रेणु पराजित हुने जनाउँदै आएको छ । रेणुलाई भरतपुरका कांग्रेसले भोट नहाल्ने जनाइसकेका छन् । यस्तो अवस्थामा रेणुको हार निश्चित जस्तै भएको छ ।