काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा जम्मा खर्च तीन लाख ९४ हजार चार सय ८९ रुपैयाँ खर्च भएको बताएका छन् ।
त्यसमा पनि मतगणनाको समयमा मात्रै १ लाखभन्दा बढी खर्च भएको भएको उनले बताएका छन् । अगाडि नै खर्च विवरण सार्वजनिक भइसक्नुपर्नेमा विभिन्न कारणले ढिलो भएको भन्दै उनले माफी पनि मागेका छन् ।
मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो बनाएको र उम्मेदवारका लागि महँगो बनाइरहेको भन्दै उनले यसमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउन हामी हरसमय खटिरहनेछौँ ।’