×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज सिरुवा पर्व, प्रदेश १ ले दियो सार्वजनिक बिदा

आज सिरुवा पर्व, प्रदेश १ ले दियो सार्वजनिक बिदा

विराटनगर- पूर्वी तराईमा मनाइने सिरुवा पर्व आज बनाइँदैछ । विशेषगरी आदिवासी समुदायले मनाउने सिरुवा पर्व वैशाख १ गतेदेखि सुरु हुने र तीन दिन सम्म मनाउने गरिन्छ । 

पहिलो दिन एकआपसमा पानी छ्यापाछ्याप गर्दै पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन माटोको हिलो बनाएर सिरुवा र तेस्रो दिन रङ खेलेर रङ सिरुवा मनाउने चलन छ  । प्रदेश सरकारले सिरुवाको अवसरमा प्रदेश १ मा आज सार्वजनिक बिदा दिएको छ । सिरुवा पर्वमा  विभिन्न परिकार खाने र संस्कृति झल्कने मनोरञ्जनात्मक कार्यक्रम गर्ने चलन रहँदै आएको छ ।

झापा, मोरङ र सुनसरीका आदिवासी राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले यो पर्व धूमधामका साथ मनाउँछन् । पर्वको अवसरमा यी जिल्लाहरूमा विशेष सांस्कृतिक कार्यक्रमहरूसहित सिरुवा मेला पनि लाग्ने गर्दछ । बिहीबारदेखि सिरुवा पर्व र ग्रामथानहरुमा मेला सुरु भएको हो । सिरुवा पर्वलाई जुडसितल पनि भन्ने गरिन्छ ।

आजकै दिन सिरुवा पर्वको अवसरमा बिहानै स्नान गरेर भात, दाल, विभिन्न किसिमका तरुवा, सजिवनलगायत तरकारी, आचार, झोरी, बरीका साथै दही‚ चिनी खाने परम्परा रहेको छ । थारु, राजवंशी समुदायको वैशाख १ गतेबाट महिनाभर चल्ने ग्रामथान मेला पनि सुरु भएको छ । यस्ता मेला विभिन्न ठाउँ अनुसार फरक फरक ठाउँमा लाग्ने गर्दछ  ।

सिरुवा पर्वको अवसरमा  शुभकामना सन्देश दिँदै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व रहेको बताएका छन् ।  ‘हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस्,’ शुभकामना सन्देश भनिएको छ, ‘यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा गर्दछु ।’

प्रतिकृया दिनुहोस्