जापान । जापानमा गत एक वर्षको अवधिमा सवारी दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४७ जना रहेको छ, जुन तथ्यांक सङ्कलन सुरु भएयताकै सबैभन्दा कम हो। अघिल्लो वर्षको तुलनामा यो संख्या १ सय १६ जनाले घटेको जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाएको छ।
प्रहरीका अनुसार, सन् शोवा २३ (सन् १९४८) देखि तथ्यांक राख्न थालिएयता सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या यसपटक सबैभन्दा कम दर्ज भएको हो। यद्यपि, सरकारले गत वर्षसम्म वार्षिक सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार जनाभन्दा कममा झार्ने लक्ष्य राखे पनि त्यो लक्ष्य भने पूरा हुन सकेन ।
प्रान्तगत रूपमा हेर्दा, सवारी दुर्घटनाबाट सबैभन्दा धेरै मृत्यु हुने प्रान्तमा कानागावा रहेको छ, जहाँ १ सय ३९ जनाको ज्यान गएको छ। त्यसपछि टोकियोमा १ सय ३४ जना र होक्काइदोमा १ सय २९ जनाको मृत्यु भएको तथ्यांक छ । मृत्यु हुनेमध्ये ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाको संख्या १ हजार ४ सय २३ जना रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९० जनाले कम हो। वृद्धसम्बन्धी तथ्यांक सङ्कलन सुरु गरिएको शोवा ४१ (सन् १९६६) यताकै यो सबैभन्दा कम संख्या हो। प्रहरीका अनुसार, पैदल हिँड्दा र साइकल चलाउँदा हुने दुर्घटनामा उल्लेखनीय कमी आएको छ।
यसैगरी, गत एक वर्षमा सवारी दुर्घटनाका कुल घटना संख्या प्रारम्भिक तथ्यांकअनुसार २ लाख ८७ हजार २ सय ३६ वटा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३ हजार ६ सय ५९ वटा कम हो।
यद्यपि, सरकारी लक्ष्य हासिल हुन नसकेपछि राष्ट्रिय प्रहरी एजेन्सीले मद्यपान गरेर सवारी चलाउने, तथा मोबाइल फोन प्रयोग गर्दै सवारी चलाउनेजस्ता खतरनाक (नागरा) ड्राइभिङ विरुद्ध कडाइका साथ निगरानी र कारबाही गर्दै दुर्घटना न्यूनीकरणमा थप प्रयास गर्ने जनाएको छ ।