काठमाडौँ- प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डडेल्धुरामा पराजित भएका सागर ढकालले संसद् प्रतिपक्षविहीन भएकाले आफूले बानेश्वरबाट प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा संसद् भवन बानेश्वरलाई पृष्ठभूमिमा राखेर भिडिओ सार्वजनिक गर्दै ढकालले मन्त्रिपरिषद् विस्तारलगायत विषयमा आफ्ना धारणा राखेका छन् । अहिलेको मन्त्रिपरिषद्मा ९० प्रतिशत सदस्यहरू पुराना भए पनि १० प्रतिशतबाट आफूले केही नयाँ काम हुने आशा गरेको बताएका छन् । रवि लामिछानेलाई शंकाको सुविधा दिएको उल्लेख गर्दै उनले राजेन्द्र लिङ्देन ऊर्जा मन्त्री हुनु गलत भएको टिप्पणी गरे ।
उनले यो सरकार नेपालीहरूलाई झाडापखाला लगाउने सरकार भएको टिप्पणी गरे । ‘सय थोपा पानीमा १० थोपाले शुद्ध हुँदैन, यसले झाडापखाला लाग्छ । यो नेपालीहरूलाई झाडापखाला लगाउने नै सरकार हो,’ उनले अगाडि भनेका छन्, ‘को मन्त्री हुन्छ को प्रधानमन्त्री हुन्छ भन्ने कुरामा मेरो सरकार होइन, अब को २० वर्षमा देशको कायापलट हुन्छ कि हुँदैन भन्ने हो । त्यो मैले देखिनँ ।’