काठमाडौं- निर्वाचित भएको हप्तादिनमै भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
वडा अध्यक्ष श्रेष्ठविरुद्ध सरकारी जग्गा बैना गरी कीर्ते गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि ठगी तथा फौजदारी आरोपमा उनलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिएको हो। उक्त मुद्दामा प्रहरीले केशवप्रसाद अधिकारी र ईश्वर गाइँजुलाई पक्राउ गरिसकेको छ। तर वडा अध्यक्ष श्रेष्ठसहित चार जना फरार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार जिल्ला अदालतबाट वडा अध्यक्ष श्रेष्ठसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको थियो।
जसमध्ये अधिकारी र गाइँजू पक्राउ परिसकेका छन्। प्रहरीले श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएर सपथ तथा पदभार ग्रहणपछि पक्राउ पुर्जी जारी भएको जनाएको छ। पक्राउ पुर्जी जारी भएका वडा अध्यक्ष श्रेष्ठ फरार छन्। तर, प्रहरीले फरार भनेका वडा अध्यक्ष श्रेष्ठ भने दिनहुँ वडा कार्यालय पुगिरहेका छन्।
प्रहरीले पक्राउ पुर्जी जारी गरेका उनले कुनै पनि वडा सदस्यलाई कार्यबाहकको जिम्मेवारी दिएका छैनन्।वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा चाँगुनारायण-७ को अध्यक्षमा श्रेष्ठ एक्लै राप्रपाबाट निर्वाचित भएका थिए। अन्य चारजना वडा सदस्यहरु भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए।