×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

न बेड, न एम्बुलेन्स पाइन्छ

न बेड, न एम्बुलेन्स  पाइन्छ

काठमाडौं - भक्तपुरका ३३ वर्षीय युवकको मृत्यु भएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार बिहान एकाएक सन्नाटा छायो । कोरोनाले युवाकै ज्यान लिएकामा अस्पतालका चिकित्सक र व्यवस्थापकसमेत दुःखी भए।


‘यति कम उमेरका युवकले समेत कोरोनाकै कारण ज्यान गुमाउनुपरेपछि हामी साह्रै चिन्तित छौं,’ अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भने । यही अस्पतालको भेन्टिलेटरमा उपचाररत सुन्दरीजलका ४३ वर्षीय पुरुषको पनि आइतबार नै मृत्यु भयो।

अपराह्न साढे ३ बजेतिर उनको मृत्युको खबर थाहा पाएपछि अस्पताल परिसरमा आफन्तको रुवाबासी चलेको थियो। त्यही बेला भेन्टिलेटरमा राख्नुपर्ने बूढानीलकण्ठका ५४ वर्षीय पुरुषका आफन्त भने भगवान् पुकारिरहेका थिए। टेकु अस्पतालमा भेन्टिलेटर नपाएपछि उनीहरू बिरामीलाई निजी अस्पतालमा लैजाने तयारीमा लागे । उनीहरूले एम्बुलेन्स खोजे । बल्ल अपराह्न ५ बजे नेपाल एम्बुलेन्स सेवाको एम्बुलेन्स अस्पताल आइपुग्यो। उनी केही दिनसम्म घरायसी उपचार गर्दै होम आइसोलेसनमा बसेका थिए।

सास फेर्न गाह्रो भएपछि आफन्तले आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याएका थिए। अस्पतालमा प्राथमिक उपचार त भयो तर उनलाई अक्सिजनको मात्रा बढाएर तत्काल भेन्टिलेटरमा राख्नुपर्ने भयो। अस्पतालमा भेन्टिलेटर खाली थिएन।

एम्बुलेन्स आएपछि अक्सिजन सिलिन्डर जोडेर बिरामीलाई ह्वीलचियरमा गुडाउँदै बाहिर निकालियो। अक्सिजन जोड्दा पनि बिरामीलाई असहज देखिन्थ्यो। उनी बारम्बार खोकिरहेका थिए। अस्पतालमा बेड नपाएपछि घरबाट लगिएको बिरामीलाई एम्बुलेन्समै राखेर सेवा दिएको नेपाल एम्बुलेन्स सेवाका प्रमुख रञ्जित आचार्यले बताए । ट्वीटरमा उनले लेखेका छन्, ‘अस्पतालमा बेड नपाएर बिरामीलाई अक्सिजन सपोर्टका लागि एम्बुलेन्समै राख्नुपरेको छ। यो क्रम बढ्दै जानेछ। अहिले नै आइसोलेसन बेड अक्सिजनको जोहो गरौं नत्र रोगले होइन, उपचार नपाएर ज्यान जानेछ।’


सीसीएमसीको आइतबारको बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले यस्तै दृश्य सुनाएका थिए। ‘अस्पतालका सबै बेड भरिइसके। सचिव, मुख्य सचिव, मन्त्री जसलाई कोरोना लागे पनि बेड पाउने अवस्था छैन। यो अवस्था टुटाउन केही न केही निर्णय गर्नैपर्छ,’ उनको भनाइ उद्धृत गर्दै बैठकका एक सहभागीले भने । बेड सबै भरिएपछि टेकु अस्पतालमा आउन सक्ने बिरामीको उपचारको व्यवस्था गर्न आकस्मिक कक्षबाहिर अक्सिजनको पाइप जडान गर्न लागेको निर्देशक डा. सागरराज भण्डारीले बताए। ‘अब बेड खाली छैन। सास फेर्न गाह्रो भएर आएका बिरामीलाई बाहिरै राखेर भए पनि अक्सिजन दिने व्यवस्थापनमा जुटेका छौं,’ उनले भने।

मन्त्रालयका अनुसार यो अस्पतालको आइसोलेसन वार्डमा ४७ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १० जना उपचाररत छन्। बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा पनि दिनमा १० जनाभन्दा बढी भर्ना गर्नै नसक्ने अवस्था रहेको कोरोना संक्रमितको व्यवस्थापनमा नेतृत्व गरेका डा. प्रवीन नेपालले बताए। यो अस्पतालमा सबैभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । यहाँ आइसोलेसनमा १ सय ६ जना, आईसीयूमा १० जना, भेन्टिलेटरमा ८ जना उपचाररत छन्। काठमाडौं उपत्यकाका १२ वटा अस्पतालको आइसोलेसनमा ५ सय ५४ जना, आईसीयूमा ८२ र भेन्टिलेटरमा ४० जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। ५ सयभन्दा बढी संक्रमित हुने जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरसहित १० वटा पुगेका छन्।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ हजार ४ सय ५६ जना सक्रिय संक्रमित छन्। यो देशभरिको कुल संक्रमितको ४३ दशमलव ६२ हो। काठमाडौंमा सबैभन्दा बढी ६ हजार ५ सय २८ सक्रिय संक्रमित छन्। संक्रमित बढेसँगै होम आइसोलेसनमा बसेकालाई गाह्रो भएपछि अस्पताल लानुपर्दा एम्बुलेन्ससमेत पाउन मुस्किल पर्न थालेको छ । कलंकीकी ३२ वर्षीया महिलाले आइतबार बिहानदेखि कोसिस गर्दा पनि एम्बुलेन्स नपाएपछि ट्याक्सीमै अस्पताल पुगिन्। ‘सास फेर्न गाह्रो भएकाले अस्पताल ल्याउन खोज्दा एम्बुलेन्स पाउनै सकिएन,’ संक्रमितका श्रीमान्ले भने। उनलाई रुघाखोकी, ज्वरो भए पनि परीक्षण गरेका छैनन्। कोरोना पोजिटिभ भएका आफन्तलाई ज्वरो नघटेपछि हामी पनि एक्सरे र रगत परीक्षण गर्न अस्पताल गएका थियौं। एक्सरे गर्ने र रगतको नमुना दिन अस्पतालमै डेढ घण्टा बस्दा एक जना बिरामी निजी अस्पतालमा गए भने होम आइसोलेसन बसेर गम्भीर भएका तीन जना अस्पताल आइपुगे। उनीहरू सबैजसो अक्सिजनको मात्रा कमी भएपछि अस्पताल आएका थिए ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयूमा ४५ वर्षीय एक पुरुष उपचाररत छन्। उनको अवस्था गम्भीर छ। अर्को बेडमा रहेका उनका ८५ वर्षीय बुबाको शुक्रबार मृत्यु भइसकेको । बुबाको मृत्यु भएर उनी शोकमा छन्, योभन्दा बढी उनी आफैंलाई सास फेर्न नसक्नुको पीडा छँदै छ । ‘छटपटाउँदै रुन्छन्, हामीले सकेको गरिरहेका छौं,’ एक चिकित्सकले भने।

यही अस्पतालमा कोरोना संक्रमित भएपछि एउटै परिवारका चार जना भर्ना भएका थिए। यसमध्ये ७५ वर्षीय एक जना आईसीयूमा भर्ना भएका थिए। दुई दिनअघि उनको मृत्यु भएपछि शव बुझ्न पनि अरू नै आउनुपरेको स्वास्थ्यकर्मी र चिकित्सकले देखेका छन्। घरमूली गुमाएको पीडा भुल्न तीन जना भने अन्यत्र अस्पतालमा रिफर भइसकेका छन् । ‘सँगै अस्पताल भर्ना भएका एक जना गुमे पनि दाहसंस्कारसमेत गर्न कोही पुग्न नपाउँदा उहाँहरू विक्षिप्त हुनुभएको थियो,’ अस्पतालका एक स्वास्थ्यकर्मीले भने। उनीहरू वार्डमा उपचाररत थिए।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पनि परिवारै संक्रमित भएपछि उपचाररत छन्। अस्पतालका कोरोना संक्रमितको उपचार र व्यवस्थापनका संयोजक डा. प्रवीन नेपालले तीन वटा परिवारका सबैजसो सदस्य संक्रमित रहेको बताए। एउटा परिवारमा २२ वर्षीया छोरी आईसीयूमा छिन् भने बुबा र भाइ जनरल वार्डमा उपचाररत छन् । त्यस्तै अर्को परिवारका चार जना संक्रमित भएर उपचाररत छन्। ‘अस्पतालमा जति पनि संक्रमित आउँछन्, ७० प्रतिशतलाई आईसीयू चाहिएको छ,’ नेपालले भने।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्