काठमाडौं - आइसीसी विश्वकप टी-२० क्रिकेटमा साविक विजेता वेष्ट इन्डिजले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा वेष्ट इन्डिज दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित भयो ।
दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४३ रन बनायो । बलियो सुरुवात गरेको वेष्ट इन्डिजले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेको थियो । उसका लागि लेन्ड्ल सिमोन्सले १६ रन बनाए भने निकोलस पुरनले १२ रन बनाए ।
यस्तै क्रिस गेलले पनि १२ रनको नै योगदान गरे । कप्तान कायरन पोलार्डले २६ रन बनाए भने आन्द्रे रसेलले ५ तथा सिमरन हिटमेयर मात्र एक रनमा आउट भए । उसका लागि इभिन लुइसले ५६ रनको योगदान गरे । उनले ३५ बलमा तीन चौका र ६ छक्का प्रहार गरे ।
बलिङमा ड्वायन प्रिटोरिउसले तीन तथा केसभ महराजले दुई विकेट लिए । जवाफमा दक्षिण अफ्रिकाले १८ ओभर दुई बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । मात्र चार रनमा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो ।
उसका ओपनर टेम्बा बाउमा मात्र दुई रनमा आउट भए भने रिजा हेन्डरिकले ३९ रनको योगदान गरे । त्यसपछि रासी भान देर डुसेन र एडिन मार्करमले दक्षिण अफ्रिकालाई जित दिलाए ।
। जसमा डुसेनले अविजित ४३ रन बनाए भने एडिनले आक्रामक अर्धशतकीय पारी खेले । उनले २६ बलमा दुई चौका र चार छक्काको मद्दतले ५१ रन बनाए ।
जितसँगै दक्षिण अफ्रिकाले दुई खेलमा दुई अंक बनाएको छ भने वेष्ट इन्डिज अझै अंक विहिन छ ।