×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

किशोर मृत्यु प्रकरण : १३ जनाको नाममा किटानी दर्तापछि शवको पोस्टमार्टम

किशोर मृत्यु प्रकरण : १३ जनाको नाममा किटानी दर्तापछि शवको पोस्टमार्टम

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका -४ का १५ वर्षीय विनोद शाहीको शवको बिहीबार पोस्टमार्टम भएको छ। शाही वेपत्ता भएको चारदिन शव भेटिएकोमा त्यसको ६ दिनपछि पोष्टमार्टम भएको हो। पोष्टमार्टम पछि शव आफन्तले बुझेका छन्। शवको आजै कर्णाली नदीमा दाहासंस्कार गरिने जनाइएको छ।

अछाम प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले विभिन्न १३ जनाका नाममा किटानी जाहेरी दर्ता गरेपछि आफन्तले पोष्टमार्टम गर्न दिएको जानकारी दिए। प्रहरीका अनुसार नवनिर्वाचित जनप्रतिनिधिलगायतको नाममा किटानी जाहेरी दर्ता भएको छ। प्रहरीका अनुसार अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिइएको छ। केहीलाई नियन्त्रणमा लिने र छोड्ने काम भइरहेको प्रहरीले जनाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ। घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोलीसमेत खटिएको छ। जेठ १७ गते बेपत्ता भएका विनोदको शव २१ गते घरनजिकैको जंगलमा भेटिएको थियो।

मृतकको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि आफन्तले शव उठाउन नदिएका हुन्। चुनावको समयमा गाउँमा राजनीतिक दलहरूबीच विवाद भएकाले एमाले लगायतका दलहरूले नेपाली कांग्रेसका कार्यकर्ताले हत्या गरेको आरोप लगाउँदै आएका छन्।

प्रतिकृया दिनुहोस्