काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध २१ को जित निकाल्दै कर्णाली याक्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
कर्णालीले अब फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स वा सुदूरपश्चिम रोयल्समध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । हारसँगै प्रतियोगिताबाट बाहिरिएको चितवन राइनोजले भने चौथो स्थान सुनिश्चित गरेसँगै १५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो ।
चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ३४ बलमा तीन चौका र चार छक्का प्रहार गरे । प्रतियोगितामा बोपाराको यो तेस्रो अर्धशतक हो । योसँगै उनी एनपीएलमा तीन अर्धशतक बनाउने एकमात्र ब्याटरसमेत बने ।
बोपाराबाहेक, चितवनका अन्य ब्याटरले खुलेर खेल्न सकेनन् । कप्तान कुशल मल्लले २४ बलमा एक छक्कासहित २१ रन बनाए । ओपन विपिन रावलले १० बलमा चार चौकासहित १८ रन जोडे । लुक बेन्केन्स्टाइनले १३ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाए । शरद भेषवाकरले १० बलमा एक चौकासहित १० रन थपे ।
चितवनका अरु ब्याटर दोहोरो अंकसम्म पनि पुग्न सकेनन् । अमरसिंह रौटेलाले नौ, सन्तोष कार्कीले आठ, रिजन ढकालले सात र सोहेल तान्विरले चार र ओपनर हसन एसाखिलले एक रनमात्र बनाए ।
कर्णालीका जिसान मक्सुदले तीन विकेट लिए । चार ओभर बलिङ गरेका मक्सुदले २६ रन खर्चिए । कप्तान सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट लिए । विपिन शर्माले एक विकेट हात पारे ।
पहिलो इनिङः कर्णालीबाट दुई ब्याटरको अर्धशतक
त्यसअघि ओपनर जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।
कर्णालीका ओपनर कोल्सावालाले सर्वाधिक ५३ रन बनाए । उनले ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । कोल्सावालाले ३५–२ को स्थितीबाट तेस्रो विकेटका निम्ति विलियम बोसिस्टोसँग ४९ रनको साझेदारी गर्दै कर्णालीको मध्यक्रम सम्हालेका थिए ।
बोसिस्टोले ५२ रन बनाए । उनले ३९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । बोसिस्टोले ९७–४ को स्थितीबाट पाँचौँ विकेटका निम्ति चान्डविक वाल्टनसँग ६७ रनको साझेदारी गर्दै कर्णालीलाई बलियो योगफलसम्म पूर्याएका हुन् ।
अर्धशतक बनाउन चार रनले चुकेका वाल्टनले अविजित ४६ रन जोडे । आक्रामक रुपमा प्रस्तुत भएका वाल्टनले २३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । कप्तान सोमपाल कामी शून्यमा अविजित रहे ।
कर्णालीका अर्का ओपरन रित गौतम ‘गोल्डेन डक’ र गुल्सन झा ‘डक’ भए । यस्तै, जिसान मक्सुदले १२ बलमा एक चौका र एक छक्कासहित १४ रन थपे । देव खनाल तीन रन बनाएर पभेलियन फर्किए ।
चितवनका सोहेल तान्विरले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सोहेलले २४ रन खर्चिए । सरद भेषवाकर, रवि बोपारा र कप्तान कुशल मल्लले समान एक विकेट हात पारे ।
आजै हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुने तालिका छ । यो खेल दिउँसो एक बजेदेखि सुरु हुनेछ ।