काठमाडौं- राजनीतिमा अक्सर शक्ति, सत्ता र पहुँचको चर्चा हुन्छ। तर, पाल्पा क्षेत्र नं. १ मा यसपालि एउटा यस्तो पात्र चुनावी मैदानमा छ, जसले विगत दुई दशकदेखि सत्ताको कुर्सी होइन, सडकको धुलो र जनताको आँसुसँग साइनो गाँस्यो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका विमल पन्त केवल एउटा राजनीतिक अनुहार मात्र होइनन्, उनी नेपाली समाजका संकटका एक भरपर्दा सारथी हुन्।
संकटको पहिलो सिपाही
विमल पन्तको परिचय कुनै राजनीतिक दलको झण्डा बोकेर सुरु भएको होइन। २०७२ सालको विनाशकारी भूकम्प जाँदा जब धर्ती हल्लिरहेको थियो र मानिसहरू सुरक्षित ओत खोज्दै थिए, विमल उद्धार र राहतका सामग्री बोकेर सिन्धुपाल्चोकदेखि गोरखासम्मका भग्नावशेषहरूमा पसिना बगाइरहेका थिए। उनी भाषणमा होइन, फिल्डमा देखिने 'भुईँमान्छेका नेता' हुन्।
कपडा बैंकदेखि अक्सिजन अभियानसम्म
मानवीय सेवामा विमलले गरेका कामहरू आज पनि धेरैका लागि प्रेरणाका स्रोत हुन्। उनले नेपालमै पहिलोपटक 'निःशुल्क कपडा बैंक' सञ्चालन गरेर एउटा नयाँ मानक स्थापित गरे। जसका माध्यमबाट वार्षिक झन्डै ३ लाख असहाय नागरिकले आङ ढाक्ने कपडा पाइरहेका छन्।
कोरोना महामारीको दोस्रो लहरमा जब देशमा अक्सिजनको हाहाकार भयो, विमलले आफ्नो निजी गाडीलाई निःशुल्क सेवामा समर्पित गरे। अक्सिजन सिलिन्डर बोकेर अस्पताल-अस्पताल दौडनेदेखि लकडाउनमा रोजगारी गुमेका मजदुरहरूलाई काठमाडौँको खुलामञ्चमा तातो खाना खुवाउने 'हाम्रो टीम नेपाल' को नेतृत्व उनैले गरेका थिए। राज्य संयन्त्र सुतिरहेको बेला विमल पन्त सडकमा अक्सिजन र खाना बाँडिरहेका भेटिन्थे।
किसानको पसिना र बेथिति विरुद्धको विद्रोह
विमल केवल राहत बाँड्ने हात मात्र होइनन्, उनी अन्याय विरुद्ध गर्जने आवाज पनि हुन्। उखु किसानहरूले वर्षौँसम्म आफ्नो पसिनाको मूल्य नपाएर माइतीघरको सडकमा आन्दोलन गर्दा विमल उनीहरूसँगै सडकमा सुते। किसानको बक्यौता रकम उठाउन उनले गरेको दबाबमूलक सङ्घर्ष आज पनि किसानका बस्तीहरूमा चर्चाको विषय बन्ने गर्छ। भ्रष्टाचार र बेथिति विरुद्धको उनको दुई दशक लामो अनवरत सङ्घर्षले नै उनलाई आज राजनीतिमा डोर्याएको हो।
अब पाल्पा १ को विकासको पालो
पाल्पाको रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी र तिनाउका केही भाग समेटिएको यस निर्वाचन क्षेत्रले लामो समयदेखि 'टेस्टेड' अनुहारहरूलाई हेर्दै आयो। तर, विकासको गति भने सुस्त रह्यो। विमल पन्त भन्छन्, "मैले दुई दशक सडकमा बसेर सेवा गरेँ, अब संसदमा पुगेर नीतिगत सुधार र मेरो गृहजिल्ला पाल्पाको मुहार फेर्नु छ।"
काठमाडौँमा बालेन शाहले देखाएको कार्यशैली र केन्द्रमा रवि लामिछानेले जगाएको सुशासनको आशालाई पाल्पाको माटोमा फुलाउने संकल्पका साथ उनी चुनावी मैदानमा छन्। पुराना दलहरूको किल्ला मानिने पाल्पा १ मा विमल पन्तको 'घण्टी' ले यसपालि कस्तो कम्पन ल्याउँछ, त्यो त निर्वाचनले नै बताउनेछ। तर, उनको निःस्वार्थ सेवाको पृष्ठभूमिले मतदातालाई यसपालि 'अनुहार होइन, काम' हेर्न बाध्य पारेको छ।