तपाईँले कहिल्यै आफ्नो अभिभावक अथवा कोही वयस्क व्यक्तिसँग सुरक्षित यौनबारे छलफल गर्नुभएको छ ? यदि गर्नुभएको छ भने पनि ती व्यक्तिहरूले गर्भधारणको वरपर रहेर मात्र बहस गरेको सुन्नु भएको छ होला । किनभने प्रायजसो यौनको विषयमा गर्भ रहने र नरहने गरी दुई भागमा विभाजन गरेर बहस गर्ने गरिन्छ । यी विषयमा पनि छलफल गर्नु महत्त्वपूर्ण त छ‚ सँगै यौन प्रसारित रोगहरूबारे छलफल गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
यौन संचारित रोग भनेको के हो ?
– मलाई सिफिलिस (यौन संचारित रोग) पोजेटिभ देखियो । यसको अर्थ मैले अझै बुझ्न सकेको छैन ।
– तिमीलाई थाहा छ ? विश्वमा भएका प्रत्येक ५ व्यक्तिमध्ये एकलाई हर्पेस (यौन संचारित रोग) लाग्ने गरेको देखिएको छ ।
हो‚ यी माथि उल्लेख गरिएका जस्ता वाक्य अझैसम्म पनि सामाजिक रूपमा परिवारसँग बसेर छलफल गर्ने विषय बनेको छैन । घर परिवारमा यी विषयमा छलफल नभए पनि चिकित्सकसँग परामर्श लिन जाँदा भने छलफल गर्नैपर्ने हुन्छ । धेरैजसो बिरामीलाई यौन प्रसारित रोगहरूबारे केही सूचनाहरू थाहा हुन्छ । तर‚ त्यसमा पनि यस विषयप्रति द्विविधा र गलत सूचना बढी थाहा भएको देखिन्छ ।
कहिलेकाहीँ अज्ञात व्यक्तिहरूको डरले समेत यौनजन्य गम्भीर विषयहरूलाई बेवास्ता गरेको पाइन्छ । यौन प्रसारित रोग यौन सम्पर्कबाट सर्ने गर्छ । त्यस बाहेक सङ्क्रमित आमाको बच्चामा, सङ्क्रमितको रगतको प्रयोग, एउटै इन्जेक्सनको प्रयोग, र्याल, वीर्यबाट यौन रोग सर्ने गर्छ । यौन सञ्चारित रोगमा केही विशेष लक्षण नदेखिए पनि धेरै लक्षणहरू हुने गर्छन् । त्यसैले शारीरिक रूपमा स्वस्थ नै लाग्ने व्यक्ति‚ जो रोगबारे सचेत छैन‚ त्यस्ता व्यक्ति मार्फत पनि यो रोग सर्ने सम्भावना धेरै हुन्छ ।
सामान्य यौन सञ्चारित रोगहरू
यौन सञ्चारित रोगको पनि धेरै प्रकार छन् । त्यसमध्ये सबैभन्दा सामान्य यौन सञ्चारित रोग ‘क्ल्यामिडिया र प्रजनन अङ्ग हर्प’ हो । क्ल्यामिडिया‚ युवाहरूमा हुने सामान्य यौन सङ्क्रमण हो । यो सङ्क्रमण भएका व्यक्तिहरूमा कुनै लक्षण नै देखाउँदैन । त्यसैले आफूलाई यो सङ्क्रमण भएको थाहा नै नहुँदा सङ्क्रमण आफ्नो साथीलाई सरिसक्छ । क्ल्यामिडियालाई एन्टिबायोटिक्सद्वारा सजिलै उपचार गर्न सकिन्छ ।
उपचारको क्रममा आफूलाई यो रोग लागेको थाहा पाएमा आफ्नो साथीलाई पनि तुरुन्त उपचार गराएमा मात्र सङ्क्रमण फैलनबाट रोकिन्छ । क्ल्यामिडियाको समयमै उपचार नगरेमा प्रजनन समस्याहरू उत्पन्न हुन्छ । ‘प्रजनन अङ्ग हर्पेस’को पनि सङ्क्रमण भइसक्दा पनि लक्षण देखाउँदैन । यो रोग असुरक्षित यौन सम्पर्कबाट फैलन्छ र यसको उपचार छैन । यो रोग अति नै पीडादायी हुन्छ । सङ्क्रमण पूर्णरुपमा निको नभए पनि लक्षणहरूको उपचार गर्न सकिन्छ । तर‚ भाइरस भने शरीरमा बाँचिरहन्छ ।
आफूलाई सुरक्षित राख्नुहोस्
आफ्नो साथी छनोट गर्दा उसको यौन स्वास्थ्यबारे ख्याल गर्नु र थाहा पाउनु आवश्यक हुन्छ । आफ्नो यौन जीवनबारे साथीलाई बताउने र उसकोबारे सोध्ने गर्नुपर्छ । यसो गर्नाले निर्णय गर्न सजिलो हुन्छ । कोही स्त्रीरोग विशेषज्ञ, स्वास्थ्य परामर्शदाताकोमा जाँदा जोडीमध्ये एक मात्रलाई समस्या भए पनि दुवै जना जानु राम्रो हुन्छ ।
सुरक्षित यौनका लागि अहिलेसम्मको सबैभन्दा प्रभावकारी विधि भनेको कन्डमको प्रयोग नै हो । यसले अरू गर्भ निरोधकको साधनको जस्तो जन्म नियन्त्रणमा भने प्रभावकारी नहुन पनि सक्छ । अहिले प्रयोग हुने गर्भ निरोधक चक्की, आईयूडी, रड प्रत्यारोपणजस्तो दीर्घकालीन गर्भ निरोधक साधनको जस्तो काम नगरे पनि यौन रोग प्रसारण हुनबाट बच्न कन्डमको प्रयोग अनिवार्य छ ।
दीर्घकालीन गर्भ निरोधक साधनले यौन रोग प्रसारण हुन नदिन कुनै भूमिका खेल्दैन । ९ देखि ४५ वर्ष उमेर समूहका प्रत्येक व्यक्तिले ‘एचपीभी’ भ्याक्सिन लगाउनुपर्छ । यसले ‘एचपीभी’ सर्ने जोखिम हुन दिँदैन । यदि यो यौन रोगको सङ्क्रमण फैलिएमा क्यान्सर हुन्छ । यो भ्याक्सिन लगाउने सबैभन्दा उपयुक्त उमेर भनेको ११ वर्ष पुगेपछि १२ वर्ष ननाँघ्दै हुन्छ । यस समयमा यसले सबैभन्दा धेरै रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न सक्छ ।
१५ वर्षमुनिकालाई यो भ्याक्सिन दुई डोज दिए हुन्छ भने त्यसमाथिका व्यक्तिलाई ६ महिनाको फरकमा ३ डोज दिनुपर्छ । आफ्नो यौन व्यवहारलाई सुरक्षित राख्नु नै आफूलाई यौन प्रसारित रोगबाट सुरक्षित राख्नु हो ।
–मायो क्लिनिकबाट