काठमाडौं - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले पराजित गरेको हो । मधेसश प्रदेशले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो ।
जवाफमा ४१.१ ओभरमा सवै विकेट गुमाएर कर्णाली १७० रनमात्रै बनाउन सक्यो । पहिला ब्याटिङ गर्दा मधेश प्रदेशका लागि २ जना खेलाडीले अर्धशतक प्रहार गर्दा अरुको पनि प्रदर्शन मध्यम रहेको थियो । ओपनर तथा कप्तान हरिशंकर साहले ५० रन बनाउँदा मयन यादवले पनि ५० रनकै अर्धशतकीय पारि खेले ।
यसैगरी अनिल साहले ४४ रन बनाउँदा अभिषेक तिवारीले ३४ रन जोडेका थिए । यस्तै पवन शर्राफ, राजेश यादव र प्रदीप पासवानले समान ११–११ रन बनाए । यसैगरी राहुल मण्डलको ब्याटबाट १० रन बन्यो ।
कर्णाली प्रदेशका लागि दीपेन्द्र रावतले ४ विकेट लिँदा अनुज चनाराले २ विकेट लिए । यसैगरी दिनेश अधिकारी, युनिस सिंह र रविन्द्र शाहीले एक एक विकेट लिए ।
२३२ रनको लक्ष्यसहित मैदान उत्रिएको कर्णाली प्रदेशको सुरुआत भने राम्रो रहेन । लगातार विकेट पतन हुँदा एक समय सहज अवस्थामा देखिए जित निकाल्न सकेन । कर्णालीका लागि अर्जुन घर्तीले ५८ रनको अर्धशतकीय पारि खेल्दा दिनेश अधिकारीले ३३ रन जोड । यस्तै विपिन शाहीले ३१ रन बनाउँदा प्रकाश जैशीले १४ रनमात्रै जाडे ।
मधेश प्रदेशका लागि राजेश यादवले ३ विकेट लिँदा प्रदिप पासवानले २ विकेट हात पारे । यसैगरी रुपेश सिंह, अभिषेक तिवारी, रञ्जित कुमार, हरिशंकर साह र पवन शर्राफले एक एक विकेट लिए ।
५ खेलमा ३ जित निकालेको मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको कर्णाली प्रदेश ४ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ ।