×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाल ‘ए’ लाई क्यानडाले दियो २४१ रनको लक्ष्य

नेपाल ‘ए’ लाई क्यानडाले दियो २४१ रनको लक्ष्य

काठमाडौं- एकदिवशीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ ले नेपाल ‘ए’ लाई २ सय ४१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा-११ ले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो । राम्रो सुरुवात गरेको क्यानडाले मध्यक्रममा स्पिनविरुद्ध रनको लागि संघर्ष गरेको थियो ।

श्रेयस मोभाले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे । ५ चौका प्रहार गरेका उनी अन्तिम ओभरमा मिड अफमा क्याच आउट भएका थिए ।

मोभासँगै क्यानडाका लागि ओपनरद्वय आरोन जोन्सन र सृमन्थ विजयरत्नेसँगै नवनित धलिवलले राम्रो ब्याटिङ गरे । नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २-२ तथा सागर ढकाल र बसिर अहमंदले १-१ विकेट लिए ।


पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरेपछि १२औं ओभरको तेस्रो बलमा आरोन जोन्सन आउट भए । उनी सागर ढकालको एलबीडब्लु धरापमा परे । जोन्सनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा निकोलस किर्तन ७ रन जोड्दै साहब आलमको बलमा बोल्ड भए ।

विजयरत्नेले २१ रनमा रहँदा जीवनदान पाएका थिए । सागर ढकालले फालेको दशौं ओभरको पाँचौ बलमा कभरमा रहेका विवेक यादवले डाइभ दिँदै क्याच समाउन सकेनन् । उनी २० औं ओभरमा शेर मल्लको एलबीडब्लु धरापमा परे । उनले ५७ बलमा ६ चौकासहित ४६ रन बनाए ।

हर्ष ठाकर ८ रन जोड्दै बसिर अहमदको बलमा एलबीडब्लु आउट भए । त्यसबेला क्यानडा १०४-४ को स्थितिमा थियो । पाँचौ विकेटका लागि धलिवल र मोभाले ६६ रनको साझेदारी गरे । धलिवल ४६ रन जोड्दा साहबको बलमा बोल्ड हुँदा लगातार अर्धशतक बनाउनबाट चुके ।


कप्तान साद खाता नखोली शेर मल्लकै शिकार बने । निखिल दत्तले ८ र डिलोन हेलीगरले १६ रनको योगदान दिए ।

नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका थिए । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गरिरहेका छन् ।

नेपाल ‘ए’ टोलीमा दुई परिवर्तन गरेको छ । विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन् । 

पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । 

नेपालको प्लेइङ११ :

सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल, रिजन ढकाल

बेन्च : सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया, प्रतिश जिसी

क्यानडा-११ :

साद बिन जफर (कप्तान), आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, निखिल दत्त, अमर खालिद

बेन्च: दिलप्रित बज्वा, पर्गत सिंह, उदय भगवान सिंह, इश्वरजोत सोहि

प्रतिकृया दिनुहोस्