काठमाडौं - क्रिकेट लिजेन्ड ब्रायन लारा नेपाल आइपुगेका छन् । आज बिहान आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलो पटक नेपाल आएका हुन् ।
उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरू हेर्नेछन् भने क्रिकेट खेलाडीहरूसँग साक्षात्कारसमेत गर्नेछन् । लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् । उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन् ।
एनपीएलको पहिलो संस्करणलाई विशेष बनाउन क्यानले लारालाई निमन्त्रण गरेको हो ।
को हुन् ब्रायन लारा ?
५५ वर्षीय ब्रायन लारा सर्वकालिन महान क्रिकेटरमा पर्छन् । टेस्ट क्रिकेटको एउटै इनिङ एक्लै चार सय रन बनाउने एक्ला ब्याट्सम्यान हुन् उनी ।
लाराले १३१ टेस्टमा ११ हजार ९५३ रन जोडेका छन्, जसमा ३४ शतक र ४८ अर्धसतक सामेल छन् । यस्तै, २९९ एक दिवसीय खेल्दा १९ शतक र ६३ अर्धशतकसहित १० हजार ४०५ रन बनाएका छन् ।
लाराले सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट खेलेका थिए । सन् २००७ को अप्रिल २१ मा उनले अन्तिम एकदिवसीय खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।