काठमाडौं - सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि ठूलो बाढी आएको छ । स्थानीयका अनुसार यो बाढी गत असार १ को भन्दा पनि ठूलो छ । गए राती आएको
बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो । त्यस्तै केही घरमा क्षति पुगेको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।
यस्तै हेलम्बु गाउँपालिका जोड्ने चनौटेको रातोपुल उच्च जोखिममा परेको छ । ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदि को सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको प्रहरीले जनाएको छ ।
नदीमा बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। शनिबार राति काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा भीषण बाढी आएको हो ।
गत असार १ गते ठूलो बाढी आएर जनधनको क्षति पुगेको मेलम्ची र हेलम्बुमा शनिबार राति फेरि बाढी आएपछि स्थानीय त्रसित बनेका छन् । असार १ को बाढीबाट भएको क्षति र विस्थापितको पुर्नस्थापना हुन नपाउँदै पुनः बाढी आउँदा स्थानीय त्रसित भएका हुन् ।
यसअघिको बाढीका कारण तटीय क्षेत्रमा स्थानीय नबसेका कारण मानवीय क्षति भने नभएको बताइएको छ । हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ। त्यसअघिको बाढीले हेलम्बु, मेलम्चीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो ।