काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र प्रभावशाली लेग स्पिनर सन्दीप लामिछानेसहित आठ नेपाली खेलाडीले बेल्जियममा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘इयू टी–२० लिग’ खेल्ने भएका छन्। आगामी जुन ६ देखि १४ तारिखसम्म सञ्चालन हुने यस ऐतिहासिक लिगमा नेपालका स्थापित र उदयमान खेलाडीहरूको बलियो उपस्थिति रहने निश्चित भएको हो।
प्रतियोगिताका लागि मंगलबार भएको ड्राफ्ट र त्यसअघिको ‘प्रि–साइनिङ’ मार्फत नेपाली खेलाडीहरू विभिन्न टोलीमा आबद्ध भएका हुन्। नेपाल प्रिमियर लिग (एनपिएल) को टोली जनकपुर बोल्ट्सको लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको ‘जेबी ब्रुजेज’ मा मात्रै पाँच नेपाली खेलाडीले स्थान बनाएका छन्। अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई जेबी ब्रुजेजले ड्राफ्टअघि नै तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको थियो। सोही टोलीमा ड्राफ्टमार्फत स्पिनर ललितनारायण राजवंशी र ब्याटर इशान पाण्डे छनोट भएका छन् भने विकेटकिपर ब्याटर अनिलकुमार साह र अलराउन्डर गुल्शनकुमार झा ‘अप्सनल राउन्ड’ बाट टोलीमा आबद्ध भएका हुन्। जेबी ब्रुजेजमा नेपाली खेलाडीका साथै न्युजिल्यान्डका भेट्रान ब्याटर कलिन मनरो र दक्षिण अफ्रिकाका रासी भान डर डुसेन जस्ता विश्वचर्चित क्रिकेटरहरू समेत रहेका छन्।
नेपाली टोलीका कप्तान रोहित पौडेललाई गेन्ट ग्लाडियटर्सले क्याटेगोरी ‘बी’ बाट आफ्नो टोलीमा अनुबन्ध गरेको छ। त्यस्तै, ‘ग्लोबल आइकन’ का रूपमा चिनिने सन्दीप लामिछानेलाई लियेज रेड लायन्सले ड्राफ्टअघि नै प्रि–साइन गरेको थियो। अर्का भरपर्दा विकेटकिपर ब्याटर आशिफ शेखलाई एन्टवर्प एंकर्सले क्याटेगोरी ‘सी’ बाट टोलीमा भित्र्याएको छ।
बेल्जियममा पहिलोपटक आयोजना हुन लागेको यस फ्रेन्चाइज लिगमा जेबी ब्रुजेज, एन्टवर्प एंकर्स, ब्रसेल्स, गेन्ट, लुभेन र लियेज रेड लायन्स गरी छ टोलीको सहभागिता रहनेछ। युरोपियन भूमिमा नेपाली खेलाडीहरूको यो व्यापक सहभागिताले नेपाली क्रिकेटको बढ्दो क्रेज र अन्तर्राष्ट्रिय बजारमा नेपाली खेलाडीको मागलाई थप प्रस्ट्याएको छ।