×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बागमतीमा बानियाँ सरकारको आज अग्निपरीक्षा, सत्ता गठबन्धनद्वारा ह्वीप जारी

बागमतीमा बानियाँ सरकारको आज अग्निपरीक्षा, सत्ता गठबन्धनद्वारा ह्वीप जारी

काठमाडौं - बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मतको सामना गर्दैछन्। नेपाली कांग्रेस र नेकपा (एमाले) सम्मिलित सत्ता गठबन्धनको बलमा मुख्यमन्त्री बनेका बानियाँले आफ्नो पक्षमा बहुमत सिद्ध गर्न अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रदेशसभा सचिवालयका अनुसार यो आजको बैठकको प्रमुख कार्यसूची हो।

गत साउन २० गते नेपाली कांग्रेसका ६४ प्रदेशसभा सदस्य र नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका बानियाँले नियुक्तिको एक साताभित्रै विश्वासको मत लिन लागेका हुन्। कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले प्रदेशसभा बैठक आह्वानका लागि सचिवालयलाई यसअघि नै सूचित गरिसकेका थिए।

नेपालको संविधानले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। सोही संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री बानियाँले संविधानको धारा १६८ को उपधारा (४) र प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाएका हुन्।

यसैबीच, सरकारलाई समर्थन दिएका प्रमुख दलहरूले मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई अनिवार्य निर्देशन (ह्वीप) जारी गरेका छन्। नेपाली कांग्रेस संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जन र नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले छुट्टाछुट्टै सूचनामार्फत आफ्ना दलका सबै प्रदेशसभा सदस्यलाई आजको बैठकमा अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मत दिन निर्देशन दिएका छन्।

नयाँ भवनबाट प्रदेशसभाको नयाँ यात्रा
आजको प्रदेशसभा बैठक ऐतिहासिक हुने अर्को कारण पनि छ। आजदेखि बागमती प्रदेशसभाका सम्पूर्ण गतिविधि सचिवालयको नवनिर्मित भवनबाट सञ्चालन हुनेछन्। निर्माणका सबै प्रक्रिया पूरा भई हस्तान्तरण भइसकेको नयाँ र आधुनिक सभा भवनमा आज पहिलो पटक सदन बस्न लागेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले पुष्टि गरे।

यो भवन निर्माण परियोजना भने लामो समयदेखि चर्चामा थियो। वि.सं. २०७७ साल मंसिर १० गते शिलान्यास गरिएको उक्त भवनको ठेक्का सोही वर्षको कात्तिकमा लागेको थियो। १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदार कम्पनीको सुस्तताका कारण सम्झौता भएको करिब पाँच वर्षपछि मात्रै भवन तयार भएको हो।

सहरी विकास तथा भवन कार्यालय, हेटौँडाका प्रमुख इन्जिनियर सुवोध अधिकारीका अनुसार, अर्घाखाँची-सगुन-पारामाउन्ट जेभीले कूल पाँच करोड २९ लाख रुपैयाँको लागतमा यो भवन निर्माण गरेको हो।

प्रतिकृया दिनुहोस्