काठमाडौँ - सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालय पनौती ४, टोखाल, काभ्रेपलाञ्चोकको मुख्य कार्यालयमा मिति २०५०।०१।१८ गते राति (२०८० ०१ १९ गते बिहान)अन्दाजी १ः२० बजेको समयमा संस्थामा रहेको सुरक्षा गार्डलाई बन्धक बनाई नियन्त्रणमा लिई चोरी डकैती भएको सहकारीले जनाएको छ । संस्थाको कम्पाउण्ड भित्र ५ जनाको समुहमा चोरहरु पसी नगद रु. ३२,३१,७४५ (बत्तीस लाख एकतिस हजार सात सय पैतालिस) र एक थान डि.भी. आर. एन.मि. आर. चोरी डकैती भएको जानकारी प्राप्त भएको छ ।
उक्त्त घटनाको बारेमा सम्पूर्ण जानकारी प्रहरी कार्यालयमा बुझाई अनुसन्धानको कार्य समेत अगाडि बढिसकेको संस्थाले जनाएको छ । हाल नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिउरोद्धारा तालिम प्राप्त कुकुर सहित उक्त घटनाको अनुसन्धान भइरहेको अध्यक्ष प्रकाश बन्जाराले बताएका छन्। संस्थाले नगद भवन तथा सम्पत्ति सामानहरुको पूर्ण रूपमा विमा गरेको र इन्स्यरेन्स कम्पनीको सर्वेयर टिमले सम्पूर्ण डाटा संकलन समेत गरिसकेको हुनाले शेयर सदस्यहरुलाई आर्थिक रुपमा कुनैपनि असर नपर्ने बताएको छ ।
चोरी डकैती पश्चात समेत संस्थाका सम्पूर्ण कागजपत्र, सर्भर, सिस्टम लगायतका अन्य भौतिक सम्पती सामानहरु सुरक्षित रहेको, मानविय क्षति नभएको साथै सदस्यहरुलाई दिईने सेवा २०८० वैशाख १९ बिहान ९ः०० बजेदेखि नै सुचारु रहेको जानकारी गराएको छ।
यो घटना सहकारी क्षेत्रकै सुरक्षा चुनौतीको रुपमा देखिएकोले अनुसन्धानमा आवश्यक सहयोग गरि दोषि पत्ता लगाई कारर्वाही अघि बढाउन सुरक्षा निकायमा अनुरोध गर्दै केन्द्र, प्रदेश तथा जिल्ला स्तरका सहकारी संघहरुबाट समेत अनुसन्धानमा आवश्यक पहल गरिदिनु अध्यक्ष प्रकाश बन्जाराद्धारा प्रकाशित वक्त्तव्यमा बताइएको छ ।
पनौती नगरपालिका स्थित सबै सहकारी संस्थाहरुलाई पनौती न.पा.ले उक्त घटना पश्चात् सचेत रहन अनुरोध गरेको छ ।