×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धरानबाट भोजपुर जाँदै गरेको जिप दुर्घटना : ८ जनाको मृत्यु

धरानबाट भोजपुर जाँदै गरेको जिप दुर्घटना : ८ जनाको मृत्यु

भोजपुर - धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । 
 
मृत्यु हुनेमा इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिनुभयो। किशन राईको उपचारका क्रममा मृत्यु भएको हो । 
 
साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट सातजना र हसनपुरबाट पाँचजना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए। घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ । 
 
धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको    को१ज २५९३ नम्बरको जिप आज बिहान १०ः३० बजेतिर उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो । जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिकृया दिनुहोस्