काठमाडौँ । मछिन्द्र फुटबल क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले एक एक गोल गरे । खेलको २९ औँ मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए ।
खेलको ६८ औँ मिनेटमा नुर्लानले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाए । त्यसअघि शनिबार नै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एनआरटीले पहिलो जित निकाल्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन स्टेफेन समिरले निर्णायक गोल गरे । दोस्रो हाफको सुरुवातमै एनआरटी गोल निकाल्यो । ४६ औँ मिनेटमा स्टेफेन समिरले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । जुन गोल निर्णायक बन्यो । यस जितसँगै एनआरटीले ४ खेलमा ५ अङ्क जोडेको छ । सातदोबाटोले ४ खेलमा ७ अङ्क जोडेको छ ।