काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । राजस्थानले दिएको २२३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएपछि खेल १५ रनले हारेको हो ।
दिल्लीका लागि कप्तान ऋषव पन्तले सर्वाधिक ४४ रन बनाए भने पृथ्वी शा र ललित यादवले ३७-३७ रन बनाए । त्यस्तै डेभिड वार्नरले २८, रोभमन पावेलले ३६ र श्रदुल ठाकुरले १० रन बनाए । त्यसैगरी राजस्थान रोयल्सका बलर प्रसिद्ध कृष्णले ३ विकेट लिए भने आर आश्विनले २ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा २ विकेट गुमाउँदै २२२ रन बनाएको थियो । राजस्थानका लागि यस आइपिएलमा तेस्रो सतक प्रहार गरेका जोस बटलरले ११६ रन बनाएका थिए । त्यसपछि देवदत्त पाडिकलले ५४ रन बनाए भने कप्तान सन्जु सामसनले अविजित ४६ रन बनाए ।
यो जितपछि राजस्थान रोयल्सले ७ खेलमा पाँचौँ जित हासिल गरेको छ र १० अंकसहित अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दिल्लीको ७ खेलमा चौथो हारसहित ६ अंक रहेको छ र अंकतालिकामा छैटौँ स्थानमा रहेको छ ।