काठमाडौं - दशौँ राष्ट्रिय खेलकुद यसै आर्थिक वर्षको फागुन महिनामा आयोजना गरिने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको १२३औं बोर्ड बैठकले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ। राखेपका एक सदस्यले यस निर्णयको पुष्टि गरेका हुन्।
गत वर्षको मंसिरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति यसअघि तीनपटकसम्म सरिसकेको थियो र अन्ततः स्थगित भएको थियो। जसका कारण गत आर्थिक वर्षमा यो बृहत् प्रतियोगिता हुन सकेको थिएन।
नवनियुक्त खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको यो पहिलो बोर्ड बैठकबाट राष्ट्रिय खेलकुदको मिति तोकिएको हो, जसले खेलकुद क्षेत्रमा नयाँ ऊर्जा ल्याएको छ।
स्मरण रहोस्, २०७९ सालमा गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदको समापन अवसरमा दशौँ राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तान्तरण गरिएको थियो।
तर, भौतिक पूर्वाधारको अभाव र अन्य विविध कारणहरू देखाउँदै निर्धारित समयमा दशौँ राष्ट्रिय खेलकुद हुन सकेन। पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरियो। फेरि आर्थिक कारणहरू देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पुर्याइएको थियो। त्यसपछि भने प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको थियो।
बोर्ड बैठकले अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी जितबहादुर केसीलाई २५ लाख रुपैयाँ पुरस्कार दिन मन्त्रीपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ।
त्यस्तै, लामो समयदेखि राष्ट्रिय प्रतियोगिता आयोजना नगर्ने राष्ट्रिय खेल संघहरूलाई ३ महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिइएको छ। राष्ट्रिय खेल संघ आफैँले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ। साथै, खेल संघहरूले वैदेशिक भ्रमणसम्बन्धी प्रतिवेदन राखेपमा पेस गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहजीकरण गरेको उक्त बैठकमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यहरूलगायतको उपस्थिति रहेको थियो।