×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

विपत्तिमा नेपालसँग एनआरएनए कान्तो : BBQ र सांगीतिक कार्यक्रम रद्द, राहतमा १० लाख येन सहयोग

विपत्तिमा नेपालसँग एनआरएनए कान्तो : BBQ र सांगीतिक कार्यक्रम रद्द, राहतमा १० लाख येन सहयोग

टोकियो । हालै नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) कान्तो क्षेत्रीय समन्वय परिषद्, जापानले आगामी सेप्टेम्बर ६ तारिख टोकियोस्थित कासाई रिन्काई पार्कमा आयोजना गर्ने भनिएको BBQ तथा सांगीतिक कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ।

नेपालमा बाढी तथा पहिरोका कारण उत्पन्न भएको दुःखद् र विषम परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम नगर्ने निर्णय गरिएको एनआरएनए कान्तोले जनाएको छ । एनआरएनए कान्तो क्षेत्रीय समन्वय परिषद्को अगस्ट २७ तारिख बसेको भर्चुअल बैठकले कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो ।

कार्यक्रम नेपाली समुदाय तथा विभिन्न संघ–संस्थाबीच आपसी सद्भाव, सहकार्य, भाइचारा र एकताको भावना सुदृढ गर्ने उद्देश्यले आयोजना गर्न लागिएको थियो। BBQ तथा सांगीतिक कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई जापानमा रहेका नेपालीबीच आत्मीयता र सम्बन्धलाई अझ प्रगाढ बनाउने साझा उत्सवका रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको थियो।

तर नेपालमा प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भइरहेका बेला मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने निष्कर्षसहित कार्यक्रम रद्द गरिएको हो। एनआरएनए कान्तो क्षेत्रीय समन्वय परिषद्का संयोजक दीपक सुवेदी ‘विप्लव’ले कार्यक्रम रद्द गर्नुपरेकोमा सहभागी तथा शुभेच्छुकहरूप्रति क्षमा माग्दै विपत्तिको यस घडीमा नेपाल र नेपाली जनताको साथमा उभिनु प्राथमिकता भएको बताए।

नेपालमा आएको बाढी तथा पहिरोबाट ज्यान गुमाउने सम्पूर्ण नेपालीप्रति एनआरएनए कान्तो परिवारले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै अपूरणीय क्षति सहन सक्ने धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ। बाढी तथा पहिरोका कारण बेपत्ता तथा प्रभावित नागरिकहरूको शीघ्र खोजी, उद्धार र सुरक्षित स्थानमा पुनर्स्थापना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत एनआरएनए कान्तोले गरेको छ।

यसैबीच, विपत्तिमा परेका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जापानमा रहेका नेपाली संघ–संस्था, समुदाय, व्यवसायी, समाजसेवी तथा सम्पूर्ण नेपालीलाई एकजुट भएर सहयोग गर्न एनआरएनए कान्तोले आग्रह गरेको छ। एनआरएनए कान्तो क्षेत्रीय समन्वय परिषद्ले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि १० लाख येन (१ मिलियन येन) बराबरको नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

विपत्तिको समयमा नेपाल र नेपाली जनताको साथमा सदैव रहने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनए कान्तोले आगामी दिनमा पनि संघ–संस्था तथा नेपाली समुदायबाट साथ, सहयोग, सुझाव, सल्लाह तथा आर्थिक र नैतिक सहयोगको अपेक्षा गरेको जनाएको छ । रद्द गरिएको BBQ तथा सांगीतिक कार्यक्रम आगामी दिनमा पुनः आयोजना गर्ने विषयमा मिति र स्थान तय भएपछि छिट्टै जानकारी गराइने एनआरएनए कान्तोका सचिव सोहनकुमार खत्रीले बताए।

प्रतिकृया दिनुहोस्