टोकियो - जापानमा क्रियाशील नेपाली पत्रकार तिलक मल्ललाई ‘प्रवास पत्रकारिता पुरस्कार २०२६’ प्रदान गरिएको छ । जापानमा रहेर नेपाली पत्रकारितामा निरन्तर योगदान पु¥याउँदै आएका मल्ललाई नेपाल पत्रकार महासंघ जापान शाखाले १५ औँ स्थापना दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।
सन् १९९९ देखि पत्रकारितामा सक्रिय रहँदै आएका मल्लले जापानको टोकियोमा रहेर समुद्रपारि डटकम सञ्चालन तथा प्रकाशन गर्दै आएका छन् । मल्ललाई कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास जापानका कार्यबाहक राजदूत हरीहर कान्त पौडेलले नगद ५० हजार येन तथा सम्मान पत्र प्रदान गरेर सम्मानित गरेका थिए ।
उत्त पुरस्कारको प्रायोजन रेमिट्यान्स सेवा प्रदायक कम्पनी फोरेक्स जापानले गरेको हो । पत्रकारितामार्फत नेपाली समुदायका आवाज, समस्या, गतिविधि र प्रवास जीवनका विविध पक्षलाई निरन्तर उजागर गर्दै आएका मल्ल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्षसमेत हुन् ।
पत्रकार महासंघ जापान र फोरेक्स जापान बीच प्रवास पत्रकारिता पुरस्कारका लागि तीन वर्षे प्रायोजन गर्ने सहमति भएको पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए ।