काठमाडौँ - नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सव बुधबार राजधानीमा एक विशेष समारोहकाबीच सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा संघको वार्षिक प्रकाशन ‘सहचरी स्मारिका २०८२’ को विमोचन गरिएको थियो । सोही अवसरमा समाजसेवा र कला क्षेत्रमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. ओममुर्ति अनिल, समाजसेवी राम प्रसाद न्यौपाने र उत्तम पुडासैनीलाई सम्मान-पत्र प्रदान गरियो ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले संघले स्थापनाकालदेखि नै सामाजिक सेवा र मानवीय कार्यमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले प्रहरी परिवारको एकता र सामाजिक उत्तरदायित्वमा संघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा संघकी संस्थापक अध्यक्ष बसुन्धरा लामाले संघकी महासचिव अनुश्री पाख्रिन, सामाजिक अभियन्ता कविता पौडेल, प्रहरी उपरीक्षक वसुन्धरा खड्का र प्रहरी नायव निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई कदर-पत्र प्रदान गर्नुभयो । त्यसैगरी, संघकी अध्यक्ष रूपा पौडेल थापाले संघका विभिन्न कार्यक्रममा उत्कृष्ट कार्य गर्ने पदाधिकारी तथा प्रहरी कर्मचारीहरूलाई प्रशंसा-पत्रद्वारा सम्मान गर्नुभयो ।
समारोहमा संघका गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन गरिनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सैनिक श्रीमती संघ, सशस्त्र प्रहरी परिवार महिला संघ, निजामती कर्मचारी श्रीमती संघका अध्यक्षहरू, संघका पूर्व अध्यक्षहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, संघका पदाधिकारी तथा सदस्य लगायत विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो ।