काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखिएको रासायनिक मल अभावको समस्याबारे छलफल गर्न कृषि तथा पशुपंक्षी विकासमन्त्रीसहित सम्बद्ध अधिकारीहरूलाई बोलाउनुभएको छ।
मलको सहज आपूर्ति र खेतीपातीको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओलीले आज दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, कृषि सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाक्नुभएको हो।
देशमा मलको पर्याप्त मौज्दात रहेको र थप मल आउने क्रम जारी हुँदा पनि किसानहरूले समयमै मल नपाएको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले यस विषयमा चासो देखाउँदै समाधानका लागि उच्च प्राथमिकता दिनुभएको हो।
यसअघि पनि प्रधानमन्त्री ओलीले खेतीपातीको सिजन सुरु हुनुअगावै मलको अभाव हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो। उहाँले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने र प्राङ्गारिक मलको उत्पादन तथा प्रयोग बढाउने योजना ल्याउनसमेत सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभएको थियो।