काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनलाई दुई दिनको पाहुँना भएको संज्ञा दिँदै न्यायाधीशहरू चाकडीमा लागे आफ्नो पार्टीले कदम चाल्ने चेतावनी समेत दिएका छन्।
आज राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की र एक नेताबीच दुई घन्टा छलफल भएको आरोप लगाउँदै उक्त चेतावनी दिएका हुन्।
‘एक जना नेता कुदेर कायममुकायम प्रधानन्यायाधीशजी कहाँ गएर दुई घन्टा बसेर बाहिर निस्किए। ती नेता घरतिर लागे। श्रीमानजी अदालततिर लागे। के भयो त्यहाँ?,’ उनले प्रश्न गरे। ओलीले नेपालका अदालतमा लेनदेन चल्ने गरेको आरोपसमेत लगाएका छन्। उनले यस्ता कुरा सधैँ हुन नहुने टिप्पणी गरेका हुन्।
न्यायाधीशहरूले नै अदालत घुस्याहा र भ्रष्ट भयो भनिरहेको उल्लेख गर्दै उनले न्यायाधीशहरूले पनि निष्पक्ष भएर न्यायसम्पादन गर्नुपर्ने प्रस्ट पारे। सत्तागठबन्धनलाई ढोडको लौरो भएको ओलीको आरोप छ।
गठबन्धनको लहैलहैमा नलाग्न न्यायाधीशहरूलाई आफूले सुझाव दिन चाहेको उनले बताए। ओलीले अदालत सेटिङ र लेनदेनमा चल्ने गरेका कुराहरु आइरहेको भन्दै यस्ता संकेतहरू देखिएको बताए।